जबरजस्ती करणी मुद्दाका प्रतिवादी किरण राई पक्राउ



काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी किरण राई पक्राउ परेका छन् । खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ ठेगाना भएका १९ वर्षीय राई रेड नोटिस जारी भएको पाँच दिन भित्रै पक्राउ परेका हुन् । एनसिबी दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनका लागि आज नेपाल फिर्ता ल्याइएको छ ।

राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो । अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न नेशनल सेन्ट्रल व्यूरो एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल सचिवालयबाट यही पुस २० गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम एक एम्पुल, फेनारगन एक एम्पुल र नुर्फिन एक एम्पुलसहित खोटाङ घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चितकुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद रु ६१ हजार ५५० प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८० पुष २५, बुधबार १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको