भक्तपुर । आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गर्नुभएको छ । कलेजोमा भएको क्यान्सरले जीवनसँग सङ्घर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिनुभएको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँको नेतृत्वमा चिकित्सकसहितको ५० जनाको टोलीले निरन्तर १४ घण्टाको शल्यक्रियापछि कलेजोको सफल प्रत्यारोपण गरेको हो ।
कलेजो झिकेको छ दिनमा आमा र नौ दिनपछि छोरालाई ‘डिस्चार्ज’ गरिएको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । हाल बालक र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठको भनाइ छ । “यति सानो बालकको शरीरमा कलेजो प्रत्यारोपण भएको केन्द्रमा यो नै पहिलो पटक हो । चिकित्सा विज्ञानमा कलेजको प्रत्यारोपण सबैभन्दा जटिल प्रत्यारोपणका रुपमा मानिन्छ”, उहाँले भन्नुभयो ।
बालकमा कलेजो प्रत्यारोपणका लागि केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्सिङ तथा अन्य प्राविधिक जनशक्ति, पाटन अस्पतालका बालरोग विशेषज्ञ डा पूजा अमात्यलगायतको नर्सिङ टोली, कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल र डा वर्षा बर्मा तथा भारतीय चिकित्सकको सहायता लिइएको उहाँले बताउनुभयो ।
दाताको काटिएको कलेजो तीन महिनामै ९० प्रतिशतसम्म वृद्धि हुने र दातामा कुनै समस्या नआउने डा श्रेष्ठको भनाइ छ । रिसब बुबा रूपक र आमा सीता भट्टका एक्ला छोरा हुन् । रिसवलाई सुरुमा बान्ता हुने, वाकवाकी लाग्ने, खाना अपच हुने जस्ता समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । त्यहाँ जाँच गर्दा उनको कलेजोमा क्यान्सर पहिचान भएपछि कीमोथेरापी दिइएको थियो ।
आमा सीताका अनुसार क्यान्सर रोगको पहिचान भएपछि बालकलाई उपचारका लागि भारतका दिल्लीमा लगिएको थियो । तर भारतमा उपचार गर्दा धेरै खर्च भएपछि आफन्त र एक चिकित्सकमार्फत भक्तपुरको प्रत्यारोपण केन्द्रमा ल्याएर बालकमा कलेजो प्रत्यारोपण गरिएको हो ।
सीताले भन्नुभयो, “क्यान्सर रोग पहिचान भएपछि उपचार गरी पूर्ण निको हुन्छ भन्ने लागेको थिएन, तर यो अस्पतालमा आएपछि मैले कलेजो काटेर दिएँ र छोराले नयाँ जीवन पाउन सक्यो ।” केन्द्रका वरिष्ठ प्रशासन सहायक विश्वनाथ पौड्यालले एउटा कलेजो प्रत्यारोपणका लागि रु १५ देखि २० लाखसम्मसम्म खर्च हुने बताउनुभयो । तर तीन वर्षे बालकको हकमा भने रु १५ लाख मात्रै अस्पतालले लिएको उहाँको भनाइ छ । केन्द्रले पहिलो पटक सन् २०१६ डिसेम्बरमा कलेजो प्रत्यारोपण गरेको थियो ।
केन्द्रले सुरुको केही वर्ष वार्षिक एकरदुई वटामा मात्रै कलेजो प्रत्यारोपण गर्दै आएकोमा यसवर्ष १० जनाको सफल कलेजो प्रत्यारोपण गरिसकेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । केन्द्र स्थापनाको ११ वर्षमा कूल एक हजार एक सय ८८ जनामा मिर्गौला र १८ जनामा कलेजो प्रत्यारोपण भइसकेको उहाँ बताउनुहुन्छ ।
केन्द्रले आव २०६९र७० मा १३ जनाको मिर्गौला प्रत्यारोपण, आव २०७०र७१ मा २७ जना, आव २०७१र७२ सालमा ४१ जना, आव २०७र७३ सालमा एक सय एक जनाको मिर्गौला प्रत्यारोपण भएको थियो । साथै आव २०७३र७४ मा एक सय ३२ जना, आव २०७४र७५ मा एक सय ५३ जना, आव २०७५र७६ मा एक सय ७९ जना, आव २०७६र७७ मा ४९ जना, आव २०७७र७८ मा ४५ जना, आव २०७८र७९ मा एक सय ६० जना, आव २०७९र८० मा एक सय ८६ जना र आव २०८०र८१ मा एक सय एक जनामा मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७३र७४ बाट कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सोही वर्ष दुई जनामा कलेजो प्रत्यारोपण गरेको थियो भने आव २०७४र७५ देखि आव २०७७र७८ मा चार वर्षमा एकरएक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका थिए । डा श्रेष्ठका अनुसार आव २०७८र७९ मा तीन जनाको, आव २०७९र८० मा दुई जनाको र चालु आवमा सात जनामा कलेजो प्रत्यारोपण भइसकेको छ ।






