काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री शर्माले चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिए पनि त्यहाँ रहेका कामदार क्रमशः अवकाश हुँदै जाने र त्यो पद स्वतः खारेज हुने नीति लिइएको बताउनुभयो ।
“चालु आर्थिक वर्षमा अतिरिक्त हुलाक खारेज गर्ने भनिएको थियो, साउन(भदौबाट हामीले काम पनि सुरु ग(यौँ, एकै पटकमा सबै खारेज गर्ने भन्ने थियो तर सबैको सल्लाहमा क्रमबद्ध रुपमा गरिने भएको हो,” उहाँले भन्नुभयो । उहाँका अनुसार अतिरिक्त हुलाकमा रहेका विभिन्न ट्रेड युनियन, अर्थ मन्त्रालय र प्रधानमन्त्रीसमेतको छलफलपछि सो समूह खारेज हुने सहमति भएको तर यस कार्य क्रमबद्ध रुपमा हुँदै जाने निष्कर्ष निकालिएको थियो ।
अतिरिक्त हुलाक ९पाँचौँ संशोधन० नियमावली २०८०, गत चैत ३० मै मन्त्रीपरिषदले स्वीकृत गरेको छ । सोही अनुरुप यही वैशाख १० गते राजपत्रमा प्रकाशन भइसकेको छ । राजपत्र अनुसार नियुक्त भएका हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले ५८ वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् ।
त्यसैगरी, राजपत्रमा अतिरिक्त हुलाकमा रिक्त रहेका हुलाक प्रतिनिधि, वितरक वा डाँक वाहकको पद र नियम प्रारम्भ भएपछि रिक्त हुने त्यस्तो पद स्वतः खारेज हुने भनिएको छ । पछिल्लो समयमा सूचना, प्रविधिको विकाससँगै व्यक्तिगत चिट्ठीपत्रको अन्त्य भएकाले सरकारी बाहेक अरु कागजपत्र हुलाकबाट जाने चलन अन्त्य भएको उहाँको भनाइ छ ।
मन्त्री शर्माले अतिरिक्त हुलाक खारेज गर्ने नीति बनिसकेकाले नियमावलीअनुसार अनिवार्य अवकाश, पद खारेज हुने र स्वेच्छिक अवकाश गरी तीनवटा विकल्प अघि सारिएको बताउनुभयो । अहिले अतिरिक्त हुलाक राख्ने अवस्था नभएकाले एक पालिका एक हुलाक राख्ने निर्णय मन्त्रीपरिषदबाट भइसकेको छ ।






