काठमाडौ, चैत २ । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।
आइतबार अदालतले मुद्दा हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राख्दै आजका लागि सुनुवाइको मिति तोकेको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासले आइतबार उक्त मुद्दा हेर्दाहेर्दैमा राखेको थियो।
यसअघि न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेल को संयुक्त इजलासले निवेदनलाई नियमित सुनुवाइका लागि आइतबार पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बराल ले अघिल्लो सरकारको पालामा लामिछानेविरुद्ध दर्ता गरिएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मी ले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।






