बृहत् वामपन्थी मोर्चा बनाउन जरुरी : खनाल



काठमाडौँ, माघ १२। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बृहत् वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा खनालले सबैलाई महसुस भएको खण्डमा अहिलेको आवश्यकता बृहत् वामपन्थी एकता भएको र महसुस नभएको खण्डमा २०८४ सालको निर्वाचनपछि थाहा हुने बताए ।

कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको खनालको भनाइ थियो । पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उनले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भए पनि अहिले समाजवादी मोर्चाबारे परिपक्व अवस्था नभएको बताए ।

‘हामीले अहिलेको अवस्थामा आन्दोलनलाई एकताबद्ध गर्ने हो भने सही वैचारिक राजनीतिक कार्यदिशामा आउनुपर्छ । सही वैचारिक कार्यदिशा अहिले नै पहिल्याउन सकिँदैन भने कमसेकम साझा आधार छ । एउटा बृहत वामपन्थी मोर्चा बनाउन जरुरी छ । अब कतिपयले समाजवादी मोर्चा भन्नुहुन्छ । समाजवादी मोर्चाको अहिले त्यो परिपक्व अवस्था होइन,’ उनले भने, ‘समाजवादी कार्यक्रम नै नलिएकाहरूले के समाजवादी मोर्चा बनाउने ? नाम मात्रैको समाजवादी मोर्चा बनाउने हो भने जेजे गरे पनि हुन्छ । होइन, साँच्चै समाजवादी मोर्चा बनाउने हो भने त समाजवादी कार्यक्रम, नीति लिएकाहरूको बीचमा नै मोर्चा बनाउने होला । कति वटा समूह छन् त्यस्ता ? त्यसैले हामीले यतिबेला गर्ने भनेको व्यापक वामपन्थी मोर्चा नै हो । वामपन्थी मोर्चा आवश्यक छ ।’

प्रकाशित मिति: २०८१ माघ १२, शनिवार १५:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको