सहिद कप क्रिकेट प्रतियोगिता पुनः सञ्चालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र



जनकपुरधाम, माघ १२ । सहिद कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्न माग गर्दै सहिद कप क्रिकेट कमिटीले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। कमिटीले मुख्यमन्त्री कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्रमार्फत प्रतियोगितालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गराउन बजेट व्यवस्था गर्न माग गरेको हो।

सहिद कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशकै खेलकुद क्षेत्रमा गौरवपूर्ण मानिन्छ। २०७२ सालदेखि सुरु भएको यो प्रतियोगिता क्लबस्तरीय खेलबाट प्रारम्भ भई इन्डो–नेपाल स्तर हुँदै अन्तरप्रदेशीय प्रतियोगिताको रूपमा विस्तार भएको छ। कमिटीले प्रतियोगितालाई अझ व्यापक बनाउन प्रदेश सरकारले अघिल्लो चौथो संस्करणमा आयोजकको भूमिका निर्वाह गरेको स्मरण गराएको छ।

ज्ञापनपत्रमा भनिएको छ, २०८१र ०८२ को वार्षिक बजेटमा सहिद कप प्रतियोगिताका लागि रकम छुट्याइएको अवस्थामा अन्तिम समयमा शिर्षक परिवर्तन गरी बजेट कटौती गरिएको छ। यस कदमले खेलप्रेमीहरू र सहिदहरूप्रति अपमान गरिएको अनुभव गरिएको छ।ू

प्रतियोगिता सञ्चालन हुन नसके खेलकुदप्रेमी समुदायलाई निराशा हुने बताउँदै कमिटीले यथाशीघ्र बजेट व्यवस्था गरी प्रतियोगिता सम्पन्न गर्न सरकारसँग माग गरेको छ। साथै, माग पूरा नभए चरणबद्ध आन्दोलनको चेतावनीसमेत दिएको छ।

कमिटीले ज्ञापनपत्रको बोधार्थ खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस प्रदेश सरकार र प्रदेशसभा दलका सबै प्रमुख नेताहरूलाई समेत पठाएको छ।

सहिद कप क्रिकेट प्रतियोगिता मधेस आन्दोलन र सहिदहरूको स्मरणमा आयोजना हुँदै आएको ऐतिहासिक खेलकुद कार्यक्रम हो। प्रतियोगिताको पुनः सञ्चालनले मधेस प्रदेशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिन्छ।

प्रकाशित मिति: २०८१ माघ १२, शनिवार १३:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको