मोर्चा निर्माणका लागि वार्ता संवाद गर्न मुक्ति पार्टीद्वारा कार्यदल गठन



जनकपुरधाम, माघ १४ । पहिचानका लागि संघर्षरत दलहरु बीच मोर्चा निर्माणका लागि वार्त एवं सम्बाद गर्न राष्ट्रिय मुक्ति पार्टी नेपालले राम नरेश रायको संयोजकत्वमा ७ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोले आज विज्ञप्ति जारी आदिवासी जनजाति समेतको पहिचानको लागि संघर्षरत शक्ति, मधेस केन्द्रित राजनीतिक शक्तिहरु, सभ्यता संस्कृति पुनस्स्थापन एवं सुशासन समृद्धि लगायत देशमा अग्रगामी परिवर्तनको लागि संघर्षरत शक्तिहरु तथा राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरु बीच एक वृहत संयुक्त मोर्चा निर्माणका खातिर वार्ता एवं संवाद गर्नको लागि कार्यदल गठन गरिएको जनाएका छन ।

राय संयोजकत्वको कार्यदलमा सुमन सायमी, श्री केशव झा, सन्तोष कुमार मेहता, अनिल कुमार महासेठ, सिएन थारु र जुनतारा पुन मगर रहेका छन ।

परिणाममुखि संघर्षको निमित्त मौजुदा संघर्षशील राजनीतिक शक्तिहरु विच संवाद, सहकार्य, कार्यगत एकता तथा एकीकरण गरी बृहत शक्ति निर्माण गर्नु आजको आवश्यकता रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले ठहर गर्दै पहिचान, समृद्धि, सुशासन र स्वाभिमानयुक्त नेपाल निर्माणका लागि सबै उत्पीडित समुदायहरूलाई गोलबन्द भइ साझा संघर्षमा पार्टीले अपिल समेत गरेको छ ।

अध्यक्ष महतोले नेपालमा ऐतिहासिक आन्दोलनहरू जस्तै मधेशरथरुहट, लिम्बुवान, लगायत बिभिन्न पहिचानवादी संघर्षहरू एक्ला एक्लै भए गरेका कारण ति सब षड्यन्त्रमा फसेर अथवा शक्ति समेत अपुग भएर पूर्ण सफल हुन नसकेको अवस्थामा सामाजिक न्याय, पहिचान, र सम्मानका लागि गरिएको संघर्ष अधुरो रहँदा जनता र राज्यबीचको दुरी झन गहिरिएको विज्ञप्तिमा जनाएको छ ।

राजनीतिक अस्थिरता, आर्थिक ठहराव, र सांस्कृतिक क्षयले देशलाई दलदलमा फसाउदै गएको यस्तो अवस्थामा, देशलाई संकटबाट मुक्त गर्न, गहिरो पुनरावलोकन गरी ठोस कदम आवश्यक रहेकोले हिमाल, पहाड, तराई(मधेसका सम्पूर्ण उत्पीडित समुदायहरू एकताबद्ध भई वहुल राष्ट्रिय राज्य नेपाल निर्माणकालागि, स्वदेशीय सभ्यता र संस्कृति पुनस्स्थापना गर्न क्रान्ति आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०८१ माघ १४, सोमवार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको