काठमाडौं, माघ १४ । जनता समाजवादी पार्टी (जसपा) नेपालका उपाध्यक्ष राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीति विचार र सिद्धान्तबाट च्यूत भइसकेको दाबी गरेका छन् । अहिले राष्ट्रिय राजनीति नै संकटमा रहेको दाबी गर्दै उपाध्यक्ष यादवले राजनीतिले जनताको चाहना, आवस्यकता र समस्याको सम्बोधन गर्न नसकेको उल्लेख गरे । राष्ट्रिय राजनीति नै गलत बाटोमा हिँड्दा अर्थतन्त्र सकसपूर्ण अवस्थामा पुगेको नेता यादवको दाबी छ ।
‘नेपालको राष्ट्रिय राजनीति संकटमा छ । यसले नेपाली जनताको चाहना, आवस्यकता र समस्यालाई पुरा गर्न सकेन । त्यो दिशामा काम गरेको छैन । नेपालको राष्ट्रिय राजनीति गलत बाटोमा रहेको हुनाले अर्थतन्त्र सकसपूर्ण अवस्थामा छ । राज्यका संरचनाहरु असक्षम सावित भइरहेको छ । जताततै असन्तुष्टिहरु छ, जनतामा अब यहाँ हाम्रो भविष्य छैन, केही हुँदैन भन्ने खालको नकरात्मक भाष्य निर्माण भएको छ । सबैमा सोफोकेसन छ,’– उनले भने ।
सरकारमा रहेकाहरु आत्मकेन्द्रीत भएर जनताको समस्याभन्दा पनि आफ्नो विषयवस्तु केन्द्रमा राख्दा अहिले सबै क्षेत्र आक्रान्त रहेको उनले बताए । वर्तमान संविधानले सबै जनताको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने उनले बताए । नेता यादवले यो संविधानको दायरा बढाउनुपर्ने बताए । उनले ७२ सालमा जबरजस्ती रुपमा संविधान जारी गरिएको बताए ।
साथै, नेपालका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले आफ्नो पार्टी नै व्यवस्थापन गर्न नसकिरहेको उनले बताए । पार्टी नै व्यवस्थापन गर्न नसकेका कांग्रेस–एमालेका नेताले देश हाँक्न नसक्ने उनले बताए ।
‘यिनीहरु दल नै व्यवस्थापन गर्न सकिरहेको छैनन् भने देश के व्यवस्थापन गर्न सक्छन् ? यी नेतृत्वहरु एकदम आत्मकेन्द्रीत र व्यक्ति केन्द्रीत भए । देशलाई अगाडि बढाउने चिन्तनको अभाव छ । जनताप्रतिको प्रतिवद्धता पूरा गर्ने चिन्तनको अभाव र ज्ञानको, सोचको अभाव छ,’– उनले भने ।




