जनकपुरधाम, माघ १५ । जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालका नेताकार्यकर्ताहरु राष्ट्रिय महाधिवेशनको तयारीमा व्यस्त भएका छन ।
जसपा नेपालले बैशाख महिना भित्र महाधिवेशन सक्न भातृ तथा शुभेच्छुक संगठनहरुलाई निर्देशन दिए लगतै महाधिवेशनको मिति घोषणा गरेको समाजवादी विद्यार्थी युनियनले महाधिवेशनको तैयारीलाई तीब्र पारेका छन ।
यही चैत्र ७ र ८ गते रुपन्देहीको भैरहवामा महाधिवेशन गर्ने निर्णय गरेको युनियनले केन्द्रिय समितिलाई राष्ट्रिय महाधिवेशन तयारी समितिमा रुपान्तरण गर्दै महाधिवेशनलाई भव्य बनाउन विधान मस्यौदा, मंच व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन लगायतको १५ वटा उपसमितिहरु समेत गठन गरिसकेको छ।
महाधिवेशनलाई भव्य बनाउन महाधिवेशन आयोजन समितिको सचिवालय समेत गठन गरेको युनियनले यही माघ १२ र १३ गते महाविधेशन आयोजन स्थलमै सचिवालयको बैठक गरेर महाधिवेशनको तीब्रतालाई औपचारिक रुप दिएको महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवले मधेश टुडेलाई जनाएका छन ।
महाधिवेशनको तैयारीलाई सहयोग पु¥याउनका लागि जनता समाजवादी पार्टी नेपालले पार्टीका महासचिव राम कुमार शर्मा र युवा विद्यार्थी विभागका संयोजक विन्देश्वर यादव (विक्की)लाई जिम्मेवारी दिएको यादवले बताए । जिम्मेवारी अनुसार उनिहरु महाधिवेशन आयोजन समितिको सचिवालय बैठकमा सहभागी हुनुका साथै महाधिवेशन स्थलको निरिक्षण समेत सोमबार गरेका थिए ।
फागुन महिना भित्र जिल्ला र प्रदेशको अधिवेशन सकिने कार्यतालिका सार्वजनिक भइ सकेको जानकारी गराउदै संयोजक यादवले महाधिवेशनमा करिब ७०० प्रतिनिधि र प्रर्यवेक्षक सहभागी हुने बताए । उनले महाधिवेशनका लागि विदेशका विद्यार्थी संगठनहरुलाई समेत निम्तो पठाउने तैयारी भइ रहेको बताएका छन ।
राष्ट्रिय महाधिवेशनको मुल नारा ‘सबैका लागि निःशुल्क शिक्षा र स्वास्थ्य, सुशासनका लागि भ्रष्टाचारको अन्त’ निर्धारण गरिएको यादवले बताएका । महाधिवेशनले मुख्य रुपमा शिक्षा र स्वास्थ्यमा भै रहेको माफिया तन्त्रलाई अन्त गर्न राज्य कोषबाट सेवा सुविधा लिने सम्पूर्ण कर्मचारी एवं नेताहरुको बालबच्चालाई सरकारी शिक्षण संस्थामा अध्ययन गराउनु पर्ने सरकारी शिक्षण संस्थामा आवद्ध शिक्षक एवं प्राध्यापकहरुले निजी शिक्षणसंस्थामा लगानी गर्न नपाउने जस्ता मुद्दालाई उठाउने बताएका छन ।




