काठमाडौं, फागुन १२ । बजारमा खाना पकाउने एलपी ग्यासको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को सात महिना साउनदेखि माघसम्म ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपियाँ बराबरको तीन लाख १४ हजार ३४१ मेट्रिक टन ग्यास आयात भएको छ ।
सो परिमाणमा ग्यास आयात गरेर छ अर्ब ६१ करोड ६५ लाख ३२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । गत वर्ष सो अवधिमा ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपियाँ बराबरको दुई लाख ९८ हजार ९७५ मेट्रिक टन आयात भएको थियो । गत वर्षको तुलनामा पाँच अर्ब रुपियाँ बराबरको १६ हजार मेट्रिक टन बढी ग्यास आयात भएको तथ्यांकले देखाएको छ ।
बजारमा खपत बढेसँगै ग्यासको आयातमा वृद्धि भएको हो । चिसो मौसममा बजारमा ग्यासको खपत धेरै हुँदा आयातमा समेत वृद्धि भएको आयाल निगमले जनाएको छ । पछिल्लो समय गाउँ गाउँमा समेत ग्यासको प्रयोग हुन थालेपछि खपत बढ्दै गएको छ ।
मुलुकभर ४४ प्रतिशत घरधुरीमा ग्यासको प्रयोग हुने गर्छ । नेपाल आयल निगमले मासिक ४५ हजार मेट्रिक टन ग्यासको कोटा निर्धारण गरेको छ ।
गत आव २०८०र८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपियाँ बराबरको पाँच लाख २४ हजार २०४ मेट्रिक टन ग्यास आयात भएको थियो । ५९ वटा ग्यास उद्योगले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात गर्ने गरेका छन् । बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ ।






