जलेश्वरनाथ महादेवको महिमा



राकेशप्रसाद चौधरी
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जलेश्वर महादेव मन्दिर क्षेत्र जनकपुरधामभन्दा १५ किलोमिटर दक्षिण–पश्चिम तथा भारत बिहार राज्यको सीतामढी र मधुवनी जिल्लाको उत्तर तर्फ अवस्थित छ । शिव, पद्म, विष्णु, स्कन्द, मत्सय, लिङ्गसहितका धार्मिक पूराणहरुमा जलेश्वर महादेवबारे चर्चा गरिएको छ । रातो नदीको किनारमा अवस्थित भएकोले पनि जलेश्वर महादेव मन्दिरमा निष्ठाका साथ पुजापाठ गर्ने परम्परा छ । महाशिवरात्रीको समयमा यहाँ भव्य मेला लाग्नेगर्छ ।

शिवालयहरुमध्ये महत्वपूर्ण जलेश्वर महादेवको क्षेत्रलाई लिङ्ग पुराणमा महालिङ्ग तिर्थ भनेर सम्बोधन गरिएको छ । मनुष्यमा आफ्नो जीवनमा कम्तिमा पनि एकपटक महालिङ्गको दर्शन गर्ने चाहना राखेका कारण हरेक दिन श्रद्धालुहरु पुजापाठमा सरिक हुन्छन् । त्यही शैव पन्थीका लागि मात्र नभएर शिवको अराधना गर्नेहरुको समेत यो महादेव मन्दिर महत्वपूर्ण मानिएको हो । बिभिन्न धर्मशास्त्रहरुमा जल र ईश्वरको संगमस्थलको रुपमा जलेश्वर भन्न थालिएको हो । यहाँ मुण्डन, चुडाकर्म, होम, पुजापाठ गरे उन्य ठाउँको तुलनामा अधिक फल प्राप्त हुने विश्वसा छ । जलेश्वरमा रहको शिवलिङ्गलाई महा, स्वम्भू, मनोकामनासहितको नामले सम्बोधन गरिन्छ । शिवरात्री, महिनाको पहिलो एवं तेस्रो सोमवार, श्रीपंचमी, श्रावणी, होली लगायतका पर्वहरुको समयमा करिब १५ फिट मुनि रहेको जलेश्वर शिवलिङ्गको दर्शन गर्न सकिन्छ । धार्मिक मान्यताको कारण अझैसम्म जलकुण्डबाट नेपाली सेना, सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्वयंसेवकहरुको सहयोगमा जल निकालेर महाशिवरात्रीको दिन श्रद्धालुहरुलाई महालिङ्गको दर्शन गराउने गरिन्छ । शिवलिङ्गको दर्शन गर्न श्रद्धालुहरु घन्टौंसम्म प्रतिक्षा गर्नुपरेको दृश्य समान्य जस्तै हो । मन्दिरमा भाकल गरेकाहरुले भाण्टाको भार, कृषकहरुले धानको बाला, पहिलो अन्नवाली, , धतुरा, दुधसहितका सामग्री चढाउने गरेको सहजै देख्न सकिन्छ ।

jaleshwornath mandirयो क्षेत्र प्राचिनकालमा त्रिपुर, त्रेतायुगमा महेशपुर र द्वापरयुगमा जलेश्वर बन्न पुगेको हो । शिवप्रिया सतीको जलित शररीरको बायाँ काँध खसेको कारण यहाँ उमा महौदर शक्ति पीठको उदय भएको हो । हरेक कालखण्डमा महाशिवलिङ्ग जमिनमुनि हराउने र खोजकर्ताको लामो इतिहास छ । अहिले देखिएको पत्थरको घेरा लागेको जलकुण्डभित्रको महाशिवलिङ्ग कर्णाटवंशी(सिमरौनगढ÷तिरहुत) राजा नान्यदेवको पालामा उत्खन्न भएको मान्यता छ । सोही समयमा जलेश्वर महादेव मन्दिरको उत्तरतर्फ उमाशक्ति पीठको समेत उत्खन्न भएको मान्यता छ । कर्णाटकालिन अन्तिम राजा हरिसिंह देवको समयपछि जीर्ण र माटोमुनि पुरिएको जलेश्वर महादेव मन्दिरको जीर्णेद्वार मकवानी सेनवंशी राजाहरुको पालामा भएको मानिन्छ ।

सोही समययमा आएका सन्यासी जगदीशनाथ गिरीले जलेश्वर महादेवलाई जनसमक्ष ल्याएको जनश्रुति छ । जलेश्वर महादेव मन्दिर परिसरमा रहेका सिमरौनकालिन मूर्तीहरु समेत जगदीशनाथ गिरीकै पालामा उत्खन्न गरि प्राप्त भएको हो । तत्कालिन समयमा सोनागढीका शासक(हाल सोनुखडा)को सहयोगमा मन्दिर उत्खन्न भएको मान्यता छ । यस जनश्रुतिकै आधारमा अनुसन्धान अगाडि बढाइएपनि सोनागढीका शासकबारे अझैसम्म पत्ता लाग्न सकेको छैन ।

राजा गिर्बाणयुद्ध शाह को समयमा जलेश्वर महादेव मन्दिरको नियमित पुजापाठका लागि मकवानी सेन राजाहुँदै पृथ्वीनारायण शाहसम्मको पालामा उपभोग गर्न दिइएको मौजेहरु १८६९ सदर गरि महन्थलाई लालमोहर दिइएको थियो । अहिलेको समयमा जलेश्वर महादेव मन्दिरको अधिनमा रहेको जग्गाहरुको यकिन तथ्यांक छैन । राजा गिर्वाणयुद्धको समयमा जीर्णोद्वार गरिएको जलेश्वर महादेव मन्दिर १९९० सालको महाभुकम्पमा क्षतिग्रस्त भएपछि जलगुफामाथिको शिखर र गुम्बज मिश्रित हालको मन्दिर १९९५ सालमा बडाहाकिम रामशम्शेर जबराको नेतृत्वमा तयार भएको इतिहास छ । शिवलिङ्गको जलगुफाबारे अध्ययन अनुसन्धान गरेपछि मात्र मन्दिर पूर्नर्निर्माण गराएका थिए । बरुण र पुरन्दर पोखरी दमकलले सुकाउन लगाएर गर्न थालिएको अनुसन्धानमा रामशम्शेर हार खाएका थिए । शिवलिङ्ग रहेको गुफामा पताल गंगाबाट जल आउने गरेको बिश्वासपछि हालसम्म बाल्टिनकै सहयोगमा जल निकाल्ने परम्परा छ । रामशमशेरले प्रमाणस्वरुप मन्दिरमा चढाएको ठुलो घंटा क्षतिग्रस्त भएपछि हटाएर अहिले मन्दिरको भण्डारघरमा राखिएकोछ ।

प्राचिनकालमा जलेश्वर क्षेत्र यजित भूमिको रुपमा रहेको थियो । उर्जा तथा ज्ञान प्राप्तीका लागि भृगु, याज्ञवल्क्य, सुखदेव, अष्टाबक्र, माण्डव, साण्डीलय, श्रृतीदेवसहितका ऋषीमुनिहरुले यस क्षेत्रलाई रोजेका थिए । यी ऋषिमुनिको नाममा अहिलेसम्म पनि विभिन्न धार्मिक सरोबरहरु देख्न सकिन्छ ।

जलेश्वर नगरपालिका कार्यालयले २०३९ सालमा एक प्रतिवेदनमार्फत आफ्नो पालिकाको नामाकरण जलमा ईश्वर रहेकोले जलेश्वर भएको उल्लेख गर्यो । सोही प्रतिवेदन उल्लेख भए अनुसार सतयुगमा भगवान शंकरले मयदानव, तारकाक्ष र विद्युतप्रभको त्रिपुरदाह गरिसकेपछि उत्पन्न भएको ज्वालालाई महालिङ्ग(ठुलो शिवलिङ्ग) बनाई ध्यानमग्न भएका थिए । ज्वाला शान्त भई त्यहाँ जल उत्पन्न भएकोले यस शिवलिङ्गको नाम जलेश्वर रह्न गई यस ठाउँको नाम जलेश्वर हुन गएको चर्चा गर्ने गरिन्छ । त्रिपुरदाहको चर्चा स्वस्थानी ब्रत कथा तथा मिथिला महात्म्यमा छ । शिव पुराणमा उल्लेख भगवान शिवको १००८ नाममध्ये जलेश्वर पनि एक हो । यस अर्थमा यो स्थान प्राचीन मिथिला राज्यभन्दा पनि पूरानो छ ।

सीताको विवाह पश्चात भगवान राम आउँदा जलेश्वर महादेवको पुजा गरेको जनश्रुति रहेपनि यसको ठोस प्रमाण पाउन कठिन छ । अर्कोतर्फ राजा बलराम( बलभद्र) ले दुर्योधन र भीम यसै क्षेत्रमा गदायुद्ध कला सिकाएको चर्चा गरिन्छ । जलेश्वर महादेवको दर्शन भगवान कृष्णले गरेको जनश्रुति रहेपनि प्रमाण अभाव छ । जलेश्वर महालिङ्गको उत्पति अथवा स्थापना महादेवले गरकै कारण जलेश्वर महादेवलाई रुद्रले स्वयं स्थापित गरेको चर्चा अझैसम्म हुनेगर्दछ ।

महाशिवलिङ्ग १६ सिढीमुनिको जलगुफाभित्र अवस्थित रहेकोले भाग्यले जुराएको बेला मात्र जलेश्वर महादेवको प्रत्यक्ष दर्शन हुनेगर्छ । यहाँ महाशिवरात्रीको समयमा समेत जलेश्वर महादेवसँगै उमा शक्तिपीठ( उमा मिथिला) को पुजा गर्न सकिन्छ । यो मन्दिर सतीमाताको नामले प्रसिद्ध छ । सतीमाताको पतन भई वामस्कन्द (बाँया काध) यहीँ झरेकोले यो शक्तिपीठको नाम बामस्कन्द उमा महोदर पर्न गएको हो । महोदरबाट महोदरी हुँदै महोत्तरीको नामाकरण अझै शक्तिपीठले गर्दा भएको मान्यता छ ।

जलेश्वरमा धेरै धार्मिक पोेखरी घुम्न सकिन्jaleshwornath mandir1छ । धार्मिक ठाउँहरूमा हुने पोखरीलाई सरोबर भन्ने गरिएकोमा यस ठाउँमा ‘सर’ भनेर सम्बोधन गरिन्छ । सरोवरको छोटो रूप सर हो । जसमध्ये मुख्य रूपमा बरूणसर, पुरनदहसर, भृगुसर, सुखदेव सर छन् । प्रचीनकालमा जलका देवता बरूण एवम् ऋषिमुनि भृगु र सुखदेवलगायतले यी सरोवरको निर्माण गराएकाले उनीहरुकै नामबाट नामबाट नामाकरण भएको मानिन्छ । त्रिपुरदाह गरिएको धनुषलाई महादेवले जलेश्वरकै दहमा राखिएकोले एउटा सरोवरको नाम पुरनदह हुन गएको हो । अर्को एक कथन अनुसार इन्द्रको नाम पुरन्दर रहेकोले उनकै नामबाट यो सरोबरको नाम पुरन्दर भएको हो ।

लेखक मोहन प्रसाद खनालले नेपाली कला पुस्तकमा चर्चा गर्नुभएको काठमाण्डुका उपत्यकाका पूरानो मूर्तीजस्तै देखिने सयौं बर्ष पूराना गणेश, सुर्य, विष्णु, मूर्ती र भैरवका मूर्तीहरू जलेश्वरमा अवलोकन गर्न सकिन्छ । महिनाको पहिलो सोमवार एवम् विशेष अवसरहरूमा जल निकालिएपछि प्रत्यक्ष रूपमा जलेश्वर महालिङ्गको दर्शन र पुजा गर्न सकिन्छ । मन्दिरभित्र रहेको सयौंबर्ष पूराना वटबृक्ष (वर)को रूख मुनि बसेर केहीबेर ध्यान गर्न सकिन्छ । जलेश्वरका महन्थ जगदीशनाथ गिरी यसै वटबृक्ष मुनि ध्यानमग्न भई ज्ञान प्राप्त गरेका थिए भने जलेश्वर महालिङ्ग जनसमक्ष ल्याउन सफल भएका थिए । यस वटबृक्षमुनि थुप्रै ऋषिमुनिले साधना गर्ने गरेको इतिहास छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १३, मंगलवार १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको