राष्ट्र बैंकको निक्षेप सुविधाबाट ४ बैंक वञ्चित



काठमाडौं, फागुन १४ । नेपाल राष्ट्र बैंकको लगानी सुविधाबाट चारवटा वाणिज्य बैंक वञ्चित भएको छ ।
खराब कर्जा दर ५ प्रतिशत माथि पुगेका कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र प्रभु बैंकले केन्द्रीय बैंकको निक्षेप उपयोग गर्न नपाउने भएका हुन्।

कुमारी बैंकको ६.९६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५.८६ प्रतिशत, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको क्रमशः ५.६७ प्रतिशत र ५.०६ प्रतिशत खराब कर्जा पुगेको छ।

सोही कारण यी ४ बैंक राष्ट्र बैंकबाट पाउने निक्षेप सुविधाबाट वञ्चित भएका छन्।

पुस मसान्तमा कर्जा असुलीमा सुधार गर्न नसक्दा बैंकहरुसँग गैरबैंकिङ सम्पत्ति थुप्रिँदै गएको छ भने खराब कर्जा पनि बढ्दो छ । खराब कर्जाको चापमा चालू आर्थिक वर्ष लागेदेखि नै पर्दै आएका बैंकहरुले कर्जा प्रवाह र असुली दुवैमा सुधार गर्नसकेका छैनन् ।

यसले तेस्रो त्रैमासिकमा पनि वाणिज्य बैंकहरुको खराब कर्जा बढ्ने नै देखिन्छ। हाल २० वटा वाणिज्य बैंकहरुमध्ये ४ वटा बैंकको ५ प्रतिशत माथि पुग्दा अन्य १० वाणिज्य बैंकहरुको खराब कर्जा पनि ४ प्रतिशत नाघेको छ।

यीमध्ये प्राइम बैंकको ४.९६ प्रतिशत, हिमालयन बैंकको ४.९८ प्रतिशत र नेपाल बैंकको ४.९९ प्रतिशत खराब कर्जा छ ।

यस्तै सिटिजन्स बैंकको ४.८५ प्रतिशत, माछापुच्छ्रे बैंकको ४.५४ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.८६ प्रतिशत, एनआईसी एसिया बैंकको ४.६१ प्रतिशत, सिद्धार्थ बैंकको ४.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.९६ प्रतिशत र कृषि विकास बैंकको ४.९ प्रतिशत खराब कर्जा छ ।

यी बैंकहरुले कर्जा असुलीमा सुधार गर्न नसके तेस्रो त्रैमासिकमा खराब कर्जा ५ प्रतिशत माथि पुग्ने सम्भावना बलियो बन्दै जाने देखिन्छ। यसले राष्ट्र बैंकको निक्षेप लगानी लिने बैंकहरु क्रमशः घट्दै जाने निश्चित छ।

प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधवार १७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको