ओलीको इच्छा विपरित राजनीतिक सक्रियता बढाउँदै विद्या भण्डारी



जनकपुरधाम, फागुन १६ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा विपरित पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक सक्रियता बढाएकी छिन ।

२०७९ फागुन २९ गते दुई कार्यकाल राष्ट्रपति व्यतीत गरेर भंगालस्थित आफ्नै निवास फर्किएकी भण्डारी केही समय मौन बसिन । पार्टी एवं राजनीतिक मञ्चहरूमा उपस्थिति देखाइनन ।

तर पुनः सक्रिय राजनीतिमा फर्किने इच्छा मनमा पलाएकी पूर्व राष्ट्रपति भण्डारी बिस्तारै नेकपा (एमाले) फर्कने बाटो खोजि गर्दै राजनीतिक सक्रियता बढाउन थालेकी छिन ।

गत पुस महिना देखी राजनीतिक सक्रियता बढाएकी भण्डारी पोखरामा पुस ४ र ५ गते आयोजना गरिएको ‘फेवा संवाद’मा सहभागी हुन पुसको २ गते नै पोखरा पुगेकी थिइन्।

त्यसक्रममा उनले एमालेका केन्द्रीयदेखि प्रदेशस्तरीय नेतासँग भेटघाट गरिन । भेटघाटका सन्दर्भमा पार्टीको अवस्था, कार्यकर्ताहरूको मनोदशाबारे उनले चासो राखेको एमालेका नेताहरूले बताउदै आएका छन । यद्यपि उनले अहिले सम्म मुख खोलेर राजनीतिमा फर्कने चाहना भने व्यक्त गरि सकेकी छैनन् ।

गण्डकी भ्रमणको एक महिनापछि कोशी प्रदेश पुगेकी भण्डारीले त्यहाँ पनि राजनीतिक भेटवार्तामा समय बिताइन् ।
इटहरीमा रहेको जनता माविको ६८ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन कोशी प्रदेश गएकी भण्डारीले आफ्ना पुराना सहकर्मीदेखि पार्टीका नेताहरूसँग छलफल गरिन् ।
एक साता कोशीमा बिताएकी भण्डारी त्यस क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली संग रुष्ट रहेका नेता कार्यकर्ताहरुलाई बढी समय दिएको एमाले स्रोत बताउछन । प्रधानमन्त्री ओली भण्डारी सक्रिय राजनीतिमा नफर्किउन भन्ने आशय पटक पटक व्यक्त गरि रहेको बेला भण्डारीको राजनीतिक सक्रियता र ओली समूह इतरका नेताहरु संगको सम्वादलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसै क्रममा कोशीमा हुँदा भण्डारीलाई नेकपा एकीकृत समाजवादीका नेताहरु संग पनि बाक्लो भेटघाट भएको थियो ।
नेकपा एमालेमा भएको विभाजनलाई एकता सम्म पुर्याउन भण्डारी सेतुको काम गर्न सक्ने एसका नेताहरुको मनोभाव रहेको भण्डारी निकट स्रोत बताउछन ।
गण्डकी र कोशीको भ्रमणपछि भण्डारी मधेश र लुम्बनीको भ्रमणमा चाँसो देखाएकी छिन । उनि मधेश र लुम्बनीको भ्रमणमा जाने निश्चित भएपनि पनि दिन भने तय भइनसकेको उनका सहयोगी राजकुमार राईले जानकारी दिए।

‘उहाँ लुम्बिनी र मधेस प्रदेश जाँदै हुनुहुन्छ। दिन भने तय भइसकेको छैन। छिट्टै यी दुई प्रदेश जानुहुन्छ,’ उनले भने।

केही कार्यक्रमहरूमा सरिक हुन त्यता जान लागेको उनले बताए। भण्डारीको सचिवालयले यसलाई राजनीतिक सक्रियताकै अर्थमा बुझ्न नहुने बताउँदै आएका छन्।

‘उहाँले राजनीतिमा फर्किन्छु भन्नु भएको पनि छैन। नफर्कने कुरा पनि छैन,’ राईले भने।

नेकपा (एमाले) नेता कृष्ण दाहालले भने यसलाई राजनीतिक सक्रियताकै रूपमा बुझ्नुपर्ने बताए। भण्डारीले पार्टीको नेता–कार्यकर्तासँग अन्तरसंवाद, छलफल गरिरहेकाले लुम्बिनी र मधेस भ्रमणलाई पनि त्यही अर्थमा बुझ्नुपर्ने उनले बताए।

‘यो राजनीतिक भ्रमण नै हो। यसलाई त्यही रूपमा बुझ्नुपर्छ,’ उनले भने।

उनले पार्टीमा नीतिगत रूपमै समस्या देखिएकाले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियता बढाएको बताए। दाहालले एमालेको मूल नीति जनताको बहुदलीय जनवाद (जबज) लाई कार्यान्वयन गर्ने सन्दर्भमा पार्टीभित्र समस्या देखिएको बताए।

‘अहिले पार्टीभित्र नीतिमै समस्या छ। जबजको दृष्टिकोण, मूल्य, मान्यताको कार्यान्वयनमै समस्या देखिएपछि पार्टीमा समस्या हुने नै भयो। कार्यशैलीमा पनि केही प्रश्न उठ्ने भयो। त्यही कारण उहाँ सक्रिय हुन खोज्नुभएको हो,’ उनले भने।

उनले विद्या भण्डारीको सक्रियताले एमालेभित्र ध्रुवीकरण बढ्ने सम्भावना पनि देखाए । अहिले एमालेभित्र अध्यक्ष ओलीलाई ‘क्रस’ गर्न सक्ने व्यक्तित्व नदेखिएकाले ध्रुवीकरण नभएको बताए।

‘जब उहाँलाई क्रस गर्न सक्ने कोही देखापर्छ, त्यसपछि ध्रुवीकरण देखापर्छ। एमालेभित्र नसोचेको ध्रुवीकरणको सम्भावना देखेको छु,’ उनले भने।

उनले भण्डारीको सक्रियतालाई पार्टी नेतृत्वले नरूचाइरहेको पनि बताए।

एमालेका नेताहरू मदन भण्डारी फाउन्डेसनको सक्रियता बढेको बताउँछन्। भण्डारीले फाउन्डेसनका गतिविधिमार्फत सक्रियता बढाइरहेको उनीहरूको बुझाइ छ ।

‘हिजो त्यही फाउन्डेसनको सक्रियताले केपी ओली पार्टी सत्तामा पुग्नुभयो। आज फेरि फाउन्डेसन सक्रिय छ भने त्यसलाई राजनीतिक रूपमै बुझ्नुपर्छ,’ एमालेका एक नेताले भने।

तर फाउन्डेसनका केन्द्रीय सदस्य मिलन धरेलले संस्थाले मदन भण्डारीका विचार र दृष्टिकोणबारे विमर्श, छलफल चलाउने, जर्नल प्रकाशित गर्नेबाहेक थप गतिविधि नभएको बताए।

उनले चैत, वैशाखभित्र फाउन्डेसनका जिल्ला भेला, सम्मेलनहरू हुने जानकारी दिए। फाउन्डेसनको अहिले ५५ जिल्लामा कमिटी छ। केही जिल्लामा पालिका तहसम्म कमिटी बनेका छन्।

फाउन्डेसनको अध्यक्ष नेकपा (एमाले) ले नै तोक्ने गरेको छ । पार्टीले महेन्द्र पाण्डेलाई अध्यक्ष तोकेको थियो । पाण्डे निजी कामले मुलुक बाहिर रहेकाले अहिले उषाकिरण भण्डारी कार्यवाहक अध्यक्ष छिन् । उनी विद्या भण्डारीकी छोरी पनि हुन्।

त्यस्तै, सचिव सन्तोष रावल पनि मुलुक बाहिर नै भएकाले डेगेन्द्र पाण्डे कार्यबाहक तोकिएका छन्।

प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको