राकेशप्रसाद चौधरी
मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको मटिहानी र भारत बिहार राज्यको मधुवनी जिल्लाको मधवापुरको नेपाल–भारत सीमानामा एउटा लौह अर्थात फलामको स्तम्भ छ । दशगज भनेर छुट्टाइएको खालीजग्गा अर्थात दशगजा बोर्डरको बीचमा फलामको स्तम्भबारे सीमाविद् र मधेशमामिलाबारे अध्ययन गरेकाहरुले अझैसम्म सत्यतथ्य बाहिर ल्याउन सकेका छैनन ।
मधेशमामिलाबारे कलम चलाउने चन्द्रकिशोरले मटिहानी–मधवापुरको अन्तर्राष्ट्रिय सीमानामा रहेको लौहस्तम्भबारे अहिलेसम्म सत्यतथ्य पत्ता लाग्न नसकेको बताए । उनले भने,“केही बर्ष पहिला यस विषयमा सीमासम्बन्धका जानकार बुद्धिनारायण श्रेष्ठसँग जिज्ञासा राख्दा जानकारीमा नआएको उत्तर पाएको थिए । त्यसपछि नापी विभाग र सशस्त्र प्रहरीका उच्च अधिकारीहरूसँग सम्पर्क गर्दा समेत सीमानाको फलाम(लौह) स्तम्भबारे अनभिज्ञ रहेको पाएँ ।”
मटिहानीस्थित राजकीय संस्कृत मध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले सीमानामा सीमेन्टको पक्की सीमास्तम्भहरु रहेकोले लौहस्तम्बारे खासै ध्यान नपुगेको बताउँछन् । यो विद्यालय भारतीय सीमानाबाट सयमिटर मात्र टाढा छ ।
महोत्तरी र धनुषा जिल्लाको सीमाना छुट्टिने बिग्ही नदीमा बनाइएको पक्की पुलभन्दा दक्षिण– पश्चिमतर्फ यो लौहस्तम्भ देख्न सकिन्छ । यस स्तम्भमा अंग्रेजीमा छछ र देवनागरीमा ५५ लेखिएको छ । यसको लम्वाई र गोलाईबारे कतै चर्चा नगरिएपनि बिजुलीको तार झुण्डाउने फलामको पोल जत्रो आकारको देखिन्छ । फलामका अन्य पिलरहरुमा खियाँ लाग्ने समस्या भएपनि यो स्तम्भका त्यस्तो कुनै समस्या देखिएको छैन ।
चन्द्रकिशोर भन्छन्,“कुनै बेला सीमाना छुट्टाउँदा यो स्तम्भ गाँडिएको हुनसक्छ । तर यस्तो लौह स्तम्भ अरु जिल्लासँग भारतीय क्षेत्र छुट्टिने ठाउँमा नभेटिएकोले ठोकुवा गर्न ग्राहो छ । जूनसुकै समयको भएपनि दशगजामा रहेको यो अति महत्वपूर्ण पुरातत्व महत्वको लौह सीमास्तम्भ संरक्षण गर्नु स्थानीय पालिकाको दायित्व अन्तर्गत पर्छ ।”
संरक्षणका लागि लौह सीमास्तम्भको जरामा सीमेन्टले ढलान गरिएको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले फलामको सीमास्तम्भबारे यथेष्ट जानकारी उपलब्ध हुन नसकेको बताए । यो अमूल्य सीमास्तम्भको संरक्षणका लागि मटिहानी नगरपालिका संवेदनशिल रहेको बताउँदै यसबारे सोधखोज आवश्य रहेको औल्याए ।
२०५३ सालको असोजमा प्रकाशित मूल्याङ्कन मासिकमा झापाका तात्कालिन सांसद पुष्प पोखरेलको अन्तर्वार्तामा फलामको सीमास्तम्भबारे चर्चा गरिएको छ । अन्तर्वार्तामा पोखरलले जंगेपिलरदेखि पर भारतको गलगलीयाको केराबारी र अर्को महेशपुरको २ नं.को जंगेपिलरदेखि पर भारतीय क्षेत्रमा बृटिशको पालमा गाँडिएको आरपी(च्ए) लेखिएको फलामको सीमास्तम्भ भेटिएको चर्चा छ ।
नेपाल भारत सीमासम्बन्धी जानकार बुद्धिनारायण श्रेष्ठको एक कार्यपत्रमा नेपाल र भारतबीचको सीमा रेखा सन् १८१६ देखि १८२०, १८६०, १८८० देखि १८८६, १९०६, १९२० देखि १९२४ र १९४० देखि १९४१ म सर्वेक्षण गरी सीमाङ्कन गरिएको चर्चा गरेका छन् । उनले सो क्रममा जम्बो पिलर र सीमा स्तम्भहरु गाँडिएको चर्चा गरेपनि फलामको सीमास्तम्भबारे उल्लेख गरेका छैनन ।
मटिहानी र मधवापुरको अन्तर्राष्ट्रिय सीमानामा रहेको लौह सीमास्तम्भमा ५५ लेखिएकोले महोत्तरी जिल्लाभन्दा पूर्व र पश्चिमतर्फका सीमानाहरुमा फलामका सीमास्तम्भ भेट्टिने सम्भावनालाई ध्यानमा राखेर अध्ययन टोली बनाउनुपर्ने सुझाव लेखक चन्द्रकिशोरको छ । पृथ्वीनारायण शाहले मकवानपुर सेन राज्यमाथि कब्जा गरेपछि मटिहानीसहितको भू–भाग गोर्खा राज्य अर्थात नेपालमा समाहित भएको थियो । मटिहानीमा रहेको सेनकालिन संस्कृत पाठशाला ३०६ सय बर्षदेखि संचालित छ ।





