जनकपुरधाम, फागुन १९ । जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस आसन्न स्ववियु निर्वाचन तालिका अवरुद्ध भएको छ ।
विभिन्न मांग राखि आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रशासन बिच सहमति बन्न नसक्दा आज बाट शुरु हुने भनिएको निर्वाचन तालिका अवरुद्ध भएको हो ।
त्रिभुवन विश्वविद्यालयले जारी गरेको तालिका अनुरुप आज संगठन दर्ता गर्ने कार्यक्रम रहेपनि आन्दोलनरत विद्यार्थी संगठन र प्रशासन बिच सहमति बन्न नसक्दा दर्ता कार्यक्रम हुन नसकेको निर्वाचन समितिका सदस्य सचिव उपप्रध्यापक गुलजार राउतले जनाएका छन ।
निर्वाचन समिति संगै असन्तुष्ट रहेका आन्दोलनरत विद्यार्थी संगठनहरु संग सोमबार तीन पटक वार्ता गरिएपनि सहमति हुन सकेको छैन ।
आन्दोलनरत विद्यार्थी संगठनहरु क्याम्पसमा डिजिटल कार्ड अनिवार्य हुनु पर्ने, फर्जिमतदाताको नाम बदर हुनु पर्ने, मास्टर डिग्री दोस्रो सेमेष्टरका विद्यार्थीहरुको नाम मतदाता नामावलीमा समावेश गर्नुपर्ने लगायतको मांग राख्दै नेपाल विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ, विद्यार्थी जनमत संघ, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियू एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरु आन्दोलनमा ओर्लेको छ ।
सहमतिको प्रयास जारी रहेको र भोली विहान ८ बजे पुनः वर्ता हुने उपप्राध्यापक राउतले बताएका छन । उनका अनुसार सहमति भए लगतै निर्वाचन कार्यक्रम सुचारु हुने छ ।




