जनकपुरधाम, फागुन २० । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि सुरु हुँदै छ ।
भारत समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह ‘बि’ को उपविजेताको रूपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
आइसिसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हाबी हुँदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडि अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।
भारत र अस्ट्रेलियाबिच एक दिवसीय क्रिकेटमा हेड टु हेडको कुरा गर्दा दुबैबिच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबिच बुधवार पाकिस्तानको लाहोरमा हुँदै छ । आइसिसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।




