जनकपुरधाम , फागुन २२ । जनकपुरधाम उपमहानगरपालिका ६ स्थित न्यू जनकपुर गेस्ट हाउसमा आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
होटलको कोठा नम्बर ३०१ मा बेडमै अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार मृत फेला परेका पुरुष महोत्तरीको पिपरा गाउपालिका ७ का सागरकान्त चौधरी रहेका छन ।
आज दिउँसो ३ बजे होटल संचालकले चौधरी मृत फेला परेको जानकारी गराएको बताउदै उनले भने, मृत्यूको कारण खुलेको छैन् । होटलका एक कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं ।’
मृतकका दाजु अनिल चौधरीले सिरहा, मिर्चैयाका अमित साहले कोठा बुक गरेको होटलका कर्मचारीले बताएको जानकारी दिए । अमित भने फरार भएका छन् । उनले होटललाई दिएको नम्बरमा फोन नलागेको प्रहरीले जनाएको छ ।
उनका अनुसार सागरकान्त काठमाडौंमा बस्दै आएका थिए । उनी जनकपुरधाम किन आएका थिए भन्नेकुरा थाहा नभएको दाई अनिलले बताए ।






