गौर, फागुन २३ । गौर नगरपालिका–३ स्थित गौर राइस एन्ड फ्लोर मिलको जग्गा विवादले तीन दिनदेखि सदरमुकामा गौरमा विरोध तथा प्रदर्शन भइरहेको छ । शुक्रबार बिहान स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
मिलधनी (सेयर सदस्य) र गौरवासीबीच ४८ वर्षदेखि जग्गाको विषयमा द्वन्द्व हुँदै आएको छ । मिलधनी भनिएकाहरुले मिलको जग्गा बिक्री गर्न खोजिरहेका छन् । स्थानीय भने कुनै पनि हालतमा नदिने पक्षमा आन्दोलन गर्दै आएका छन् । यही विषयलाई लिएर सदनमासमेत कुरा उठेको छ । नगरपालिकाले केही जग्गा आफ्नो नाममा पास गराएर बाँकीको धनीलाई नै दिने सहमति गरेको खबर बाहिरिएपछि गौरका स्थानीय आन्दोलित बनेका हुन् ।
मिलको नाममा रहेको ५ बिघा जग्गामध्ये मिल सञ्चालक समितिसित वार्ता गरी गौर नगरपालिकाको नाममा ५५ कठा निस्शुल्क गरिदिने सहमति भएको नगरप्रमुख शम्भु साहले पत्रकार सम्मेलनमार्फत जानकारी गराएपछि विवाद सतहमा आएको हो । नगरप्रमुख साहले नगरवासीको हितमा राखेर निस्शुल्क जग्गा नगरपालिकाको नाममा गराउन लागेको दाबी गरे । ‘जग्गाधनीलाई मुअब्जा स्वरुप करौडौं रुपैयाँ दिने भनिरहेका छौं, उनले भने, ‘अहिले निस्शुल्क दिन्छुभन्दा पनि छलकपट गर्यो । जग्गा बेच्न लाग्यो भनेर बदनाम गरे ।’
यही विषयलाई लिएर बुधबारदेखि गौरमा नाराजुलुस सुरु भएको हो । स्थानीयले प्रमुख जिल्ला अधिकारी र नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । मिलले चर्चेको एकधुर जग्गा पनि बिक्री गर्न नदिने भन्दै मिल बचाउ संघर्ष समितिले विरोधको कार्यक्रम अघि सारेको छ ।






