जनकपुरधाम, फागुन २४ । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिले निर्वाचन निर्देशिका पारित गरेको छ । प्रदेश कार्यालयमा आज सम्म प्रदेश समितिको विस्तारिक बैठकले वडा देखि प्रदेश सम्मको अधिवेशनका लागि निर्वाचन निर्देशिका पारित गरेको हो ।
जसपा केन्द्रीय समितिको बैठकले बैशाख २५ गते भित्र प्रदेश सम्मको अधिवेशन सम्पन्न गर्न दिएको निर्देशन अनुरुप मधेश प्रदेश समितिले निर्धारित समय भित्रै अधिवेशन सम्पन्न गर्ने गरि वडा देखी प्रदेश सम्मको तालिका समेत सार्वजनिक गरेको छ ।
मधेश प्रदेश समितिले चैत्र १ गते देखी १२ गते सम्म वडा अधिवेशन , चैत्र १४ गते देखी २१ गते भित्र पालिका अधिवेशन र चैत्र २२ गते देखी मसान्त सम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैशाख २५ भित्र प्रदेश अधिवेशन सक्नु पर्ने भएकाले अर्को बैठक बाट प्रदेश अधिवेशनको मिति निर्धारण गरिने निर्णय भएको मधेश प्रदेश समितिले जनाएको छ ।
बैठकले वडा अधिवेशनका लागि वडाका सम्पूर्ण क्रियाशिल सदस्य प्रतिनिधि हुने र पालिका तथा जिल्ला अधिवेशनका लागि आवश्यक प्रतिनिधिबारे मापदण्ड बनाउने जिम्मा जिल्ला समन्वय समितिलाई दिएको छ । जिल्ला र पालिकाको आवश्यकता अनुसार जिल्ला समन्वय समितिले प्रतिनिधि निर्धारण गरिने जनाइएको छ ।
शनिबार पार्टी कार्यालय जनकपुरधाममा प्रदेश समिति अध्यक्ष बालकिशोर प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मुख्य अभियन्ता पूर्वमन्त्री हरिनारायण यादव, केन्द्रिय सदस्य लालकिशोर यादव सहितको विशेष उपस्थिति रहेको थियो ।
बैठकमा प्रदेश समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरू, केन्द्रीय समितिका जनकपुरधाममा उपलब्ध पदाधिकारी तथा सदस्यहरुका साथै प्रदेशस्तरीय जनवर्गीय संगठन समाजवादी युवा संघ, समाजवादी विद्यार्थी युनियन, समाजवादी महिला संघ, समाजवादी मुस्लिम संघ, समाजवादी दलित मुक्ति संगठन, समाजवादी किसान महासंघ, समाजवादी ट्रेड युनियन महासंघ, मधेस स्वास्थ्यकर्मी फोरम र शुभेच्छुक संस्था प्रेस मञ्च नेपाल लगायतका अध्यक्षहरू सहभागी थिए।
बैठक पछि प्रदेश कार्यालयमा नेता तथा कार्यकर्ताहरुले होली मिलन समेत गरेका थिए ।







