काठमाडौँ , फागुन २४ । सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेको छ । आफ्नो दाईलाई चुनाव हराउन भूमिका निर्वाह गरेको सहितका विभिन्न चार बुँदे आरोप लगाउँदै पार्टीको केन्द्रिय अनुशासन समितिले उनलाई स्पष्टीकरण माग गर्दै निलम्बन गरेको छ ।
समितिको सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘तपाईंले जनमत पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपधारा १,२,३,४,५,६,८,१०, १३,१४ उल्लंघन गर्नु भएकोमा तपाईंमाथि किन कारबाही हुनु नपर्ने हो ७ दिन भित्र स्पष्टीकरण दिनु हुन अनुरोध छ । साथै कारबाही प्रक्रियाभर तपाईं राष्ट्रिय कोषाध्यक्षको पदबाट समेत निलम्बन रहने व्यहोरा सूचित गरिन्छ ।’
उनलाई सोधिएको स्पष्टिकरणमा भनिएको–‘पार्टीको राष्ट्रिय कोषाध्यक्ष जस्तो ठुलो पदमा दिनहुँ काम पर्ने जिम्मेवारीमा बसेको तर आफ्नो पदको अधिकांश समय विदेश (संयुक्त राज्य अमेरिका, कतार र अन्य देशमा) नै बसेको, पार्टीको दैनिक गतिविधिको लागि समय दिन नसकेको, पार्टीका महत्त्वपूर्ण बैठक र कार्यहरूमा सहभागिता नदेखाएको । लगातार केन्द्रीय सचिवालय समितिको बैठकमा महिनौँसम्म अनुपस्थित रहेको। गैरआवासीय मधेशी संघको कोषाध्यक्ष र जनमत पार्टीको कोषाध्यक्षको रूपमा काम गर्दा पार्टीले हिसाब माग्दा हिसाब नदिने, हरेक पटक हिसाब हेरफेर गर्ने, झुटा हिसाब देखाउने गरेको छ ।’
उनीमाथि प्रतिनिधि सभाको निर्वाचन २०७९ मा खासगरी सप्तरी–१ र सप्तरी–२ केही ठूला नेता कार्यकर्ताहरूलाई भड्काएर, निष्क्रिय बनाउन लगाई त्यहाँका उम्मेदवार डा. जयकान्त राउत (सीके राउतको दाई) र राष्ट्रिय अध्यक्ष डा. सी. के. राउतलाई पराजित गर्ने उद्देश्यले भूमिका निर्वाह गरेको । बाराको उपनिर्वाचनमा पनि जनमत पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।
त्यस्तै निर्वाचन २०७९ पश्चात् जनमत पार्टी राष्ट्रिय पार्टीको रूपमा स्थापित भएदेखि नै पार्टीको विरोधमा सामाजिक सञ्जालमा लगातार पोस्ट गरेको, पार्टीका देश तथा विदेशमा रहेका कार्यकर्ताहरूलाई पार्टीको विरोधमा लबी गरेको, गैरआवासीय मधेसी संघका नेता कार्यकर्ताहरूलाई भड्काएर संगठन अस्तव्यस्त बनाएको, फोन, मेसेज र भेटघाट मार्फत लगातार पार्टीको विरोधमा जनमत पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई भड्काएर गुटबन्दी गरेको । जनमत पार्टी फोड्नका लागि विभिन्न व्यक्ति र समूहहरूसँग गुटबन्दी गरेको र जिल्ला(जिल्लामा तथा देश–विदेशमा कार्यकर्ताहरूलाई फोन गरी पार्टी फोड्नका लागि प्रयत्न गर्दै आएको आरोप लगाइएको छ ।
उनीमाथि पार्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेसशी संघका विदेशमा बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर तथा लेवीका नाममा तपाईं तथा संघका पूर्व अध्यक्षहरू ई. बसन्त कुमार कुशवाहा, ई. शम्भुनाथ साहले करौडौँ पैसा उठाएर काठमाडौँको कोटेश्वरमा घर किनी प्रवासी होटल चलाउने, जनकपुरमा घर र स्कुल चलाउने सहितका विभिन्न कारोबारहरू सञ्चालन गर्दै आएको तर सोको हरहिसाब वा लाभ उनीहरूलाई नबुझाउने, पैसा पनि फिर्ता नगरिदिने र सोको विषयमा पार्टीमा पटक–पटक ठगी गरेको भनेर उजुरी परे पछि तपाईंलाई पटक–पटक अनुरोध गर्दा पनि सो हरहिसाब उनीहरूसँग क्लियर नगरेको र उल्टा दम्भ देखाएको, यसले गर्दाखेरि पार्टीमाथि नै असर पुगेको आरोप समेत लगाइएको छ ।
यता, जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले पार्टी अध्यक्ष डा. सीके राउतले व्यक्तिगत रिसिइबीका कारण आफूलाई निलम्बन गरेको दाबी गरेका छन् । निलम्बनबारे कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले भने,–‘यो केही होइन, डाक्टर साहब (सिके राउत)ले व्यक्तिगत रिसिइबी मसँग साध्नु भएको हो ।’ स्वतन्त्र मधेश गठबन्धनदेखि आफूले पार्टीमा गरेको लगानी (नगद)को हिसाब किताब माग्दा यस्तो कारबाही गरेको दाबी उनले गरेका हुन् ।
स्पष्टीकरण प्राप्त भएको र त्यसलाई अध्ययन गरेर समयमा जवाफ दिने उनले बताए । विगत १६ वर्षदेखि संगठनमा लागेको र पार्टीलाई यहाँसम्म ल्याइ पुर्याएको दाबी गर्दै उनले अध्यक्ष राउतले लगाएका सम्पूर्ण आरोप भ्रमपूर्ण र तथ्यहीन रहेको बताए । ‘यदि त्यस्तो थिएन भने आइतबारदेखि बस्ने बैठकसम्म किन कुर्नुभएन । मलाई बैठकमै स्पष्टीकरण लिँदा हुन्थ्यो, म त्यहीँ सबै कुराको जवाफ दिन्थे तर बैठकबाट वञ्चित गर्नका लागि कारबाही गर्नुभएको हो,’ उनले भने, ‘तैपनि मैले यसको जवाफ चाँडै दिन्छु ।’






