जनकपुरधाम, फागुन २६ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, धनुषाले कम्प्युटर सिकाई शुल्कमा सिण्डिकेट लगाएको छ । क्यान महासंघ धनुषा शाखाको बसेको एक बैठकबाट सो सिण्डिकेट लगाएको छ ।
सिण्डिकेट पछि गरिव, जेहेन्दार, सीमान्तकृत लगायतका वर्गबाट कम्प्युटर शिक्षा आर्जन गर्ने छात्रछात्राहरु मारमा परेका छन् । क्यानले लगाएको सिन्डिकेटले शुल्क निर्धारण गर्नुको सार्थै आफ्नो बर्चस्व कायम गर्नकालागि विभिन्न बाहाना बनाई विद्यार्थी तथा अभिभावकको ढाड सेक्ने काम गरेको छ ।
एक हजार रुपैयाँमा तीन महिने बेसिक कोर्ष पढाउँदै आएका यहाँका कम्प्युटर इन्टिच्युटहरुले सोही कोर्षको अव तीन हजार रुपैयाँ लिने छन् भने डिप्लोमा (६ महिने)लाई १० हजार र एडभान्स डिप्लोमा १२ महिने कोर्षलाई अव उपरान्त २० हजार रुपैयाँ इन्टिच्युटले लिने भएको छ ।
क्यानका धनुषा जिल्ला अध्यक्ष विनय साहले कम्प्युटर इन्टिच्युटहरुको विशेष आग्रहमा सो निर्णय गरेको बताएका छन् । उनले भने–‘यहाँ स्थितका इन्टिच्युटले पटक–पटक गरेको आग्रहमा सवै इन्टिच्युटलाई बोलाइएको तर २० वटा मात्रै आएको र हामीले यो निर्णय गरेका छौं, जसमा इन्टिच्युटका संयोजकको पनि सहमति छ ।’
क्यानले निर्धारण गरिएको शुल्क भन्दा कम शुल्कमा पढाउन नहुने उर्दी समेत जारी गरेको छ । क्यानको निर्णयले विद्यार्थीहरु कम्प्युटर शिक्षा आर्जन गर्नबाट बञ्चित हुने यदि शिक्षा आर्जनै गर्नुपरे हुनेखाने परिवारका छात्रछात्रा मात्रै कम्प्युटर शिक्षा लिन पाउने भएको छ ।
गरिव, असहाय, पिछडिएका बर्ग, अल्पसंख्यक लगायत सीमान्तकृत वर्गका विद्यार्थीहरु क्यानको निर्णयको प्रत्यक्ष मारमा पर्ने भएको छ ।
जहा सरकार शिक्षालाई सहज र सुलभ बनाउन गाउँ गाउँमा विद्यालय खोल्ने गरेका छन्, गरिव, असहाय, पिछडिएका वर्ग, अल्पसंख्यक लगायत सीमान्तकृत वर्गका बालबालिकाकालागि छात्रवृति, स्कुल ड्रेस, दिवा खाजा जस्ता सेवासुविधाहरु प्रदान गर्दै आएका छन् त्यहि क्यानले गरेको निर्णय सामान्ति रहेको जानकारहरुको आरोप छ ।
क्यानले यथाशीघ्र यो निर्णय सच्याई ती वर्गहरुको बारेमा सोच्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेश प्रदेश सदस्य तथा जनकपुरधाम–८ का महाशंकर ठाकुरले माग गरेका छन् । उनले भने–‘कम्प्युटर शिक्षा आर्जन गर्न प्रतिवन्ध लगाउने हिसावको निर्णय क्यानले गरेको छ यसलाई यथाशीघ्र सच्याउन माग गर्दछु, नत्र हमी आन्दोलनमा जान बाध्य हुनेछौं ।’
क्यानको निर्णयले सामान्य परिवारका छात्रछात्रा निरास हुने तथा गरिव छात्रछात्राको मनोबल उच्च गर्नुको साटो गिराउने हिसावको रहेको जनकपुरधाम–४ का प्रकाश यादव भन्छन् । उनले भने–‘क्यान कम्प्युटर सिक्न चाहना राख्ने विद्यार्थीको भावना संग खेलवाड गर्ने हिसावको छ, यसलाई सच्याउनु पर्छ ।’
क्यानका अध्यक्ष साह भन्छन्–‘गरिव, असहाय, सिमान्तकृत, विपन्न वर्गका छात्रछात्रा पढ्न आए नेपाल सरकारको सिफारिस अनुसार हमी छुट दिनेछौं ।’
तर, क्यानले लगाएको सिण्डिकेट जनकपुरधामकै अन्य कम्प्युटर इन्टिच्युटले मान्न तयार भएका छैनन् । उनीहरु भन्छन्–‘हामीलाई क्यानको सदस्यतामै आपत्ति छ । क्यानमा कम्प्युटर इन्टिच्युट मात्रै सदस्य हुनु पाउनु पर्छ तर, यसमा कम्प्युटर व्यापारीहरु पनि सदस्य रहेको र नेतृत्व नै गरेका कारण हमी क्यानलाई मान्दैनौ ।’
उनीहरुले क्यानको निर्णय कम्प्युटर पसलेहरुले मान्ने हो हमी शिक्षा प्रदायक संस्था भएकाले छात्रछात्राको अवस्था देखेर शुल्क लिनमा प्रतिवद्ध छौं । व्यापार गर्ने व्यापार संग जाओस उनीहरुले चेतावनी समेत दिएका छन् ।






