प्रहरी महानिरीक्षक कुँवरद्धारा जिल्ला प्रहरी कार्यालय रौतहटको भवनहरुको उद्घाटन 



ओम प्रकाश यादव
रौतहट, फागुन २६ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

सोमवार जिल्ला प्रहरी कार्यालय गौर परिसरमा आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक ९आइजीपी० कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको सुविधा सम्पन्न एवं अत्याधुनिक डिजाइनमा नवनिर्मित भवन सहित अन्य भौतिक संरचनाहरुको उद्घाटन गरेका हुन ।



प्रहरी महानिरीक्षक कुँवरले कार्यालय भवनसहित कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, हिरासत भवन, सिनियर प्रहरी आवास, भान्सा घर, होजियारी, शैलुन, चमेनागृह, स्वागत तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गरेका हुन ।
उद्घाटन पश्चात उनले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सङ्गठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा सङ्गठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध र प्रयासरत रहेको बताएका थिए ।
आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमानदारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उनले विश्वास व्यक्त गरे ।

सो क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक दिलीप घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेका थिए ।

साथै एसपी घिमिरेले आफु यस कार्यालयको जिम्मेवारी सम्हालेदेखी जिल्लामा चोरी, तस्करी तथा अपराधीक क्रियाकलापमा व्यापक कमी आएको बताएका थिए । अपराध नियन्त्रण गरी आम जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी रौतहट प्रहरीले काम गरिरहेको प्रहरी उपरीक्षक घिमिरेले बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ९डिआईजी० लालमनी आचार्यले धन्यवाद ज्ञापन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयको भवन तथा अन्य भवनहरु पहिलो र दोश्रो चरणमा गरी दुई पटकमा २ विघा ११ कठा १२ धुर जग्गामा निर्माण भएको हो ।

कुल १६ करोड भन्दा बढीको लागतमा उक्त भवनहरु निर्माण भएको बताइएको छ । कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक सहित रौतहटका विभिन्न प्रहरी यूनिटका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्र भलादमी, सञ्चारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २६, सोमबार १९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको