जनकपुरधाम, फागुन २७ । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतसंग नयाँ नेताहरु नजिकिएपछि पुरानालाई उनले बाइपास गर्न थालेका छन् । डा. राउत संग विगतको स्वतन्त्र मधेश गठबन्धनको नाममा भएको स्वराजी आन्दोलनमा साथ रहेकाहरुलाई अहिले कारवाही गर्दै पार्टीमा निकालिएको पुरानो नेताहरुको आरोप छ ।
पार्टीमा अध्यक्ष डा. राउतलाई आर्थिक, सामाजिक र आन्दोलनमा सहयोग गर्नेहरुले पुराना दिनलाई विर्सन नहुने र मधेशका जनताले गरेको विश्वास अनुरुपनै पार्टीलाई सञ्चालन गर्नुपर्ने अडान लिए पछि पार्टीका कोषाध्यक्ष इन्जिनियर सुरेन्द्र यादव पार्टीका उपाध्यक्ष इन्जिनियर दीपक साह लगायत आठ जनालाई पार्टीले कारवाही गरेको स्रोतको दावी छ ।
स्वराजी आन्दोलनको मुलमर्म समेत पार्टीका अध्यक्ष डा. राउतलाई विर्साउने प्रयास भई रहेको पार्टी स्रोतको दावी छ । कारवाहीमा परेका उपाध्यक्ष ई. साह भन्छन्–‘पार्टीमा दलाली प्रवृति हावी भएको छ, योजना खरिद बिक्री गर्नेहरु हावी भएको छ ।’ उनले आपूm जनमत पार्टीको सत्ता पहरेदार रहेको भन्दै उनले पार्टी र अध्यक्ष डा. राउत संकटमा नपरोस अहिले पनि आफू भित्र भय रहेको बताए ।
जनमतका नेताहरु पार्टीभित्र राउतलाई खुसी बनाउन नसक्ने नेताहरु पार्टीमा टिक्न सक्ने अवस्था नरहेको बताउँछन् । पार्टीबाट हटाउने देखि स्पष्टीकरण सोध्नेको सूची लामो रहेको जनमतका नेताहरुको दाबी छ । कैलाश महतो, डा.रवीन्द्र यादव, जासर यादव लगायतका नेताहरु निष्कासनमा परेका छन् । केन्द्रीय तहका नेताहरुमा दर्जन बढीलाई स्पष्टीकरण सोधिएको छ । उपाध्यक्ष अब्दुल खानलाई समेत स्पष्टीकरण सोधिएको तर त्यसलाई सार्वजनिक भने नगरिएको जनमतका एक नेताले जानकारी गराए ।
ती नेताले भने,‘जनमत पार्टी फुटाउन लागेको शंकाले अब्दुललाई स्पष्टीकरण सोधिएको थियो । यो कुरा अब्दुल मन्त्री भएर निस्केपछिको कुरा हो ।’ अध्यक्ष राउतको अति शंका गर्ने बानीले पार्टीमा समस्या आएको उनले सुनाए ।
स्पष्टीकरण सोधिएका थप केन्द्रीय नेताहरुमा सचिव बीपी साह, अनिता साह, भुपेन्द्र यादव छुन् । बीपी साहको निलम्बन फुकुवा गरिएको छ । केन्द्रीय सदस्य शम्भु साहलाई पनि स्पष्टीकरण सोधिएको छ ।
पार्टी प्रवक्ता डा.शरदसिंह यादव विधिसंगत नेताहरु चल्न नसकेकै कारणले स्पष्टीकरण सोध्नु परेको बताउँछन् । स्पष्टीकरण सोध्ने पार्टीको विधि भएको उल्लेख गर्दै प्रवक्ता यादव भन्छन्, ‘विधि र विधानले चल्ने पार्टीमा स्पष्टीकरण पनि सोध्न पाउनु प¥यो नि । जवाफ दिने कि मिडियावाजी गर्ने हो ?’
स्पष्टीकरण मधेसका मुख्यमन्त्रीलाई समेत सोधिएको र जवाफ पार्टी सन्तुष्ट रहेपछि निरन्तर पदमा रहेको यादवले जानकारी गराए ।
उपाध्यक्ष साहलाई सोधिएको स्पष्टीकरणमा उपल्लो पदमा रहेर पार्टीलाई समय नदिएको एवं महत्वपूर्ण बैठकमा सहभागी नभएको उल्लेख छ । पार्टी स्थापनाको घोषणा हुने बेलामा समेत उपस्थित नभई पहाडमा जागिर खाएर बसेको आरोप साहलाई लगाइएको छ ।
गत निर्वाचनमा जनमतलाई आफ्नो एक भोट नदिएको र पार्टीको उम्मेदवार हराउन भूमिका खेलेको गम्भीर आरोप उनी माथि पार्टीले लगाएको छ । साथै, उपाध्यक्ष साहले अध्यक्ष राउत विरुद्ध समाचार लेख्न लगाएको, जसपाका नेताहरुसँग मिलेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको छ ।
अध्यक्षको विरुद्धमा कुरा लगाएको भड्काएको र जिल्ला–जिल्लामा तथा देशविदेशमा कार्यकर्ताहरुलाई फोन गरी पार्टी विभाजन गर्न गुट बनाएको साह माथि आरोप छ ।
साह पेशाले इन्जिनियर हुन् । जनमतको स्थापनाकालीन समयमा कार्यालय भक्तपुरको सूर्यविनायकमा साहको घरमा थियो । जिविकोपार्जनका लागि नेताको पेशा हुनुपर्ने र राजनीतिलाई सेवाभाव बनाउनु पर्ने मान्यता आफ्नो रहेको सुनाउँदै साहले भने,‘राजनीतिलाई सेवाको भावनाले ग¥यो भने मात्रै दिगो राजनीति हुन्छ । पेशा र व्यवसाय राजनीति गर्ने व्यक्तिको हुनुपर्दछ ।’
साह स्थापनाकालीन समयमा राउतका ‘सर्वाधिक’ विश्वासिलो पात्र थिए । एक समय पार्टी बैठकको निर्णयको माइन्युटमा पर्दा पछाडि बसेर काम गर्ने व्यक्तिका रुपमा चित्रण गरिएको थियो । साहको दाबी अनुसार राउतलाई इन्जिनियर पढाउन हौसला दिने उनै थिए । इन्जिनियर पढ्नुमा दीपक साह (हाल निलम्बित) को देन रहेको पुस्तकमा समेत राउतले लेखेका छन् । साहले भने, ‘अहिले मै माथि भयंकर षडयन्त्र भएको छ ।’
‘देउवा र ओली उनीहरुको पार्टीमा हाबी भएजस्तै सीके जनमतमा हाबी छन् । सीको विरुद्धमा भित्रभित्रै बोल्नेहरु छन्,’ निलम्बित कोषाध्यक्ष यादव भन्छन्, ‘साइड साइडमा कानेखुसी गर्छन् । तर खुला बोल्ने वातावरण छैन ।’






