जनकपुरधाम, चैत ४ । मधेस प्रदेशको बारास्थित प्रादेशिक अस्पताल कलैयामा छात्रवृत्ति करारमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले चार महिनादेखि तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् ।
आइतबारदेखि उनीहरूले पेन डाउन गरेपछि अस्पतालको अधिकांश सेवा ठप्प भएको छ । कलैया उपमहानगरपालिकामा रहेको अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र फार्मेसी अधिकृतहरूले होली पर्वको मुखमा समेत तलब नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।छात्रवृत्ति करारमा दुई वर्षका लागि खटिएका मेडिकल अधिकृत डा. आलोक कुमार यादवले भने, “हामीले पटक–पटक तलबका लागि ताकेता गर्दा पनि संघ र प्रदेश सरकारले कुनै सुनुवाइ गरेन । बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो ।” उनले घर–परिवार चलाउन गाह्रो भएको र खर्चका लागि घरबाट पैसा माग्नुपर्ने अवस्था आएको दुखेसो पोखे ।
अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मीहरू– डा. रमेश कुशवाहा, डा. रिचा मण्डल, डा. आलोक यादव, डा. सुरज साह, डा. तबरेज आलम, डा. आकाश जयसवाल, डा. अवनिश यादव, डा. राजा जयसवाल, सोनी यादव, विनीता दास, जाया यादव, सृजना कुशवाहा र चन्देश्वर जयसवालले तलब पाएका छैनन् ।
यता, प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय कुमार गुप्ताले करार चिकित्सकहरूको तीन महिनाको तलब बाँकी रहेको स्वीकार गरे । उनले भने, “सम्बन्धित निकायमा पत्राचार गरेर पहल गरिरहेका छौँ, छिट्टै तलबको व्यवस्था हुने प्रयासमा छौँ ।” तर, उनको यो भनाइलाई स्वास्थ्यकर्मीहरूले “आश्वासनको पुलिन्दा” मात्र ठानेका छन् ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने दाबी गर्दै निजी अस्पतालहरूको अनुगमनमा सक्रियता देखाएका छन् । तर, उनकै मातहत रहेका प्रादेशिक अस्पतालहरूमा कर्मचारीले चार महिनादेखि तलब नपाएर आन्दोलन गर्नुपर्ने अवस्था आउनुले उनको प्राथमिकता र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ । विश्लेषकहरूले मुख्यमन्त्रीको कदमलाई “काम कम, प्रचारबाजी बढी” को संज्ञा दिएका छन् ।




