जनकपुरधाम, चैत ११ । मधेश प्रदेशमा केही दिन यता देखि पत्रकारहरुमाथि विभिन्न प्रकारका लाञ्छना लगाउने क्रम बढेको छ । भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादव, मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र आज एक कार्यक्रममा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले लाञ्छना लगाउनबाट पछि परेन् ।
मधेश प्रदेश सभामा अहिले दिनहुँ सांसदहरु योजनाको खोजीमा भौतारिएको गुनासो गरेको सामाचार, मधेश प्रदेश सरकारले गरेको कामकारवाहीको समाचार, मधेश प्रदेश सरकारको खर्च सम्वन्धी समाचार लगायत यहाँ हुने विकास निर्माण तथा अन्य काममा हुने भ्रष्टाचार सम्वन्धी समाचार लेखे पछि उनीहरुले विभिन्न प्रकारका लाञ्छना लगाउनबाट पछि परिरहेका छैनन् ।
मधेश प्रदेश सरकारले अहिले सम्म कति प्रतिशत बजेट खर्च गर्यो, मधेश प्रदेश सरकारका काम कारवाही जनता मुखि भन्दा बढी कार्यकर्तामुखि देखिएपछि किन चुप नलागेको भन्दै उनीहरुले विज्ञापन तथा अन्य रुपमा नै पैसा, योजना मागेको आरोपहरु लगाई रहेका यहाँका पत्रकारहरुको भनाई छ ।
जनकपुरधाममा आज आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री लेखिले अहिलेको पत्रकारहरुमा लेखन क्षमता, बोल्ने क्षमता र कार्यशैलीमा धेरै कमीकमजोरी रहेको बताएका थिए । उनले भने–‘पत्रकारिता आज भन्दा २० बर्ष पहिला हुन्थ्यो, अहिलेका पत्रकारहरु भन्दा पहिलाका पत्रकार धेरैनै क्षमताबान थिए । गृहसञ्चार संग पत्रकारको क्षमता अभिवृद्धि र आचार संहीता पालना गर्न दुई वटा (मिडिया काउन्सिल र आम संचार प्राधिकरण) निकाय रहे पनि उनी यहाँका पत्रकारहरुको क्षमता र आचार संहीतामा असन्तुष्टि पोखेका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका सल्लाहकार तथा प्रेस मञ्च नेपालका केन्द्रीय महासचिव अवधेश झाले भने–‘ पत्रकार महासंघमा कमजोर नेतृत्व भएका कारणले राज्य पक्ष संगै प्रेस स्वतन्त्रता विरोधी शक्तिहरु स्वतन्त्र पत्रकारिता माथि प्रश्न चिन्ह उठाउन थालेका छन् । मुलुकमा लोकतन्त्रको स्थापनाको आन्दोलनमा सदैव अग्रपंक्तिको मोर्चामा रहेर आफ्नो योगदान दिएका मधेश प्रदेशका पत्रकारहरुमाथि गणतन्त्रको यो व्यवस्थामा प्रश्न उठाउनु आफूले गरेको कमजोरीको ढाकछोप गरेको मात्रैले गरेका छन् ।’
मधेश प्रदेश सभामा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका विकास निर्माणका योजना बिक्री गरिरहेको आरोप संसदहरुलेनै लगाउने गरेका छन् । तर, उनी पत्रकारहरु आपूmसंग योजना मागेको आरोप लगाउँदै आफू माथि लागेको आरोप बाट पञ्चिछन खोजेका छन् । त्यस्तै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पनि पत्रकारहरुमाथि विभिन्न प्रकारका लाञ्छना लगाए ।
नेपाल पत्रकार महासंघका पूर्व महासचिव किरण कर्णले मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार ढाकछोप हुन नसके पछि मन्त्रीहरुले लाञ्छना लगाउनु स्वभाविक रहेको बताएका छन् । उनले भने– पत्रकारले जनतालाई सत्यतथ्य समाचार लेखेकै कारण पत्रकारमाथि जाइलाग्नु निन्दनीय हो । वाक तथा अभिव्यक्ति स्वतन्त्रताको ठाडो हनन हो ।
मन्त्रीले कमिसनमा काम दिने गरेको कुरा सप्रमाण आएपछि आफ्नो व्यवहार र चरित्र सपार्नु भन्दा पनि जनतालाई वास्तविक सूचनाबाट भ्रममा पार्न खोज्न गलत हो । पत्रकारको काम गलत प्रवृत्तिको उजागर गरी आमजनमानसमा पुर्याउनु रहेकोले मन्त्रीज्युहरु अहिले जनताको पहरेदार पत्रकार माथि लागिपर्नु लोकतन्त्रको उपहास हो । ।’
मधेश प्रदेश सरकारले अहिले सम्म कति प्रतिशत बजेट खर्च गरेको, सातै प्रदेशमा सवै भन्दा कमजोर परफोरमेन्स भएको तथा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा समेत कतिको प्रगति गरेको प्रश्नको जावाफ दिनु भन्दा बढी पत्रकारहरुलाई आफू भन्दा टाढा राख्ने प्रयास गरेको प्रेस मञ्च मधेश प्रदेश समितिका अध्यक्ष अभरेन्द्र यादव बताउँछन् ।




