काठमाडौमा गणतन्त्र भर्सेस राजतन्त्र , मुठभेड रोक्न ठूलो संख्यामा प्रहरी परिचालन



काठमाडौं, चैत १५ । काठमाडौमा आज गणतन्त्र भर्सेस राजतन्त्रको पक्षमा जनप्रदर्शन हुने भएको छ । गणतन्त्र र राजतन्त्र पक्षधर दुवैले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेका हुन ।

संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थाका कारण मुलुकमा अराजकता , भ्रष्टाचार लगायतको बेथिती बढेको भन्दै पुनः राजा सहितको हिन्दु राज्यको मांग गर्दै राजावादीहरुले प्रदर्शन गर्न लागेका हुन भने व्यवस्थाको रक्षा एवं सरकारको स्वेच्छाचारिता विरुद्ध समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेका छन ।

भृकुटीमण्डपमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा राजसंस्था पक्षधरले प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

बिहीबार मात्रै समितिका संयोजक सुवेदीले प्रसाईंलाई आन्दोलनको कमान्डर तथा स्वागत नेपाललाई प्रवक्ता तोकेका थिए । दुवै पक्षले आज सडकमा विशाल जनसागर उतार्ने दाबी गरिरहेका छन् ।

समितिका संयोजक सुवेदी बिहीबार राजसंस्था पुनस्र्थापनाका लागि दबाब दिने उद्देश्यले निर्णायक आन्दोलन थालिएको बताएका थिए । आफ्ना माग पूरा नभए अझ कडा आन्दोलन गर्ने उनको चेतावनी थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजसंस्था पक्षधर समूह पनि गत फागुन २५ गतेदेखि आन्दोलनरत थिए । अहिले भने आन्दोलनको कमान्ड दुर्गा प्रसाईंमा गएको छ ।

यसैगरी समाजवादी मोर्चाले पनि आज भृकुटीमण्डपमा गणतन्त्रको पक्षमा हजारौंको सङ्ख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ । यसलाई माओवादी केन्द्रको युवा सङ्गठन वाईसीएलले पनि सघाउने जनाएको छ ।

यसर्थ सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा तीन हजार ५०० प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ ।

काठमाडौं परिसरमै कमान्ड सेन्टर बनाएर प्रहरी खटाइने व्यवस्था मिलाइएको छ । कमान्ड सेन्टरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसमेत उपस्थित हुनेछन् ।

सुरक्षाकर्मीले पूर्वराजाका समर्थकलाई रिङरोडमै जुलुस रोक्ने रणनीति लिएको छ । समाजवादी मोर्चाका समर्थकलाई भने भक्तपुरतिरबाट कोटेश्वर हुँदै बालकुमारीतर्फ ‘डाइभर्ट’ गरिने प्रहरीको भनाइ छ । सुरक्षा कमान्डर अधिकारीले शान्ति सुरक्षामा प्रहरी नचुक्ने बताएका छन् । “सकभर मुठभेड हुन दिँदैनौं, शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,” एसएसपी अधिकारीले भने ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिपुरेश्वरबाट प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ ।

प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रवार ०७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको