पूर्व राजा ज्ञानेन्द्रलाई झण्डै आठ लाख जरिवाना



काठमाडौं, चैत १६ । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो ।

महानगरले पूर्वराजासँग कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको बापत एक लाख, महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको बापत एक लाख , तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेकोबापत १ लाख, जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको बापत १ लाख, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको बापत एक लाख, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको बापत १ लाख, महानगरको दमकल फुटाएको बापत १ लाख ३० हजार, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड गरेको वापत ४० हजार र तीनकुनेको आइल्याण्डमा तोडफोड गरे बापत २३ हजार जरिवाना तोकेको छ ।

विभिन्न शिर्षकमा गरिएको जरिवानाको लागि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा छुट्टाछुट्टै पत्र लेख्दै जरिवाना तोकेको छ ।

शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र १६, शनिवार १७:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको