काठमाडौं, चैत १७ । काठमाडौ उपमहानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको जरिवना पत्र निर्मल निवासले बुझ्न अस्वीकार गरेपछि हुलाकमार्फत पठाइएको छ।
आइतबार बिहान महानगरको टोली निर्मल निवास पुगेको भएपनि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सरोकारको विषय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले हुलाकमार्फत पत्र पठाउने प्रक्रिया अगाडि बढाएको हो।
‘हामीले निर्मल निवासमै पुगेर पत्र दिन लागेका थियौं। हाम्रो टोलीलाई भित्र प्रवेश गर्न दिइएन। त्यसपछि हुलाकमार्फत पठाउने तयारी थालिसकेका छौं। पठाउने एउटा प्रक्रिया हुन्छ। प्रक्रिया अघि बढिसक्कयो,’ महानगरका एक कर्मचारीले भने।
यता, निर्मल निवास सचिवालयले भने पूर्वराजा शाहको सरोकार नभएकाले उक्त जरिवान पत्र नबुझिएको जनाएको छ।
चैत्र १५ गते काठमाडौंमा भएको राजावादीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले भौतिक क्षति गरेको भन्दै विभिन्न शीर्षकमा गरी महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार बराबरको जरिवाना पत्र काटेको थियो।
यद्यपि, राप्रपा र राप्रपा नेपालले भने ‘संयुक्त जनआन्दोलन समिति’ र ‘नागरिक बचाऊ अभियान’ले गरेको कार्यक्रममा पूर्वराजा शाहको नाममा जरिवाना पत्र काटिनु सस्तो लोकप्रियता कमाउन गरिएको परपञ्ज भएको टिप्पणी गरेका छन्।




