रौतहटमा एमालेको बृहत मोटरसाइकल र्‍याली प्रदर्शन



ओम प्रकाश यादव
रौतहट, चैत १८। नेकपा एमालेले आज देशभरि सहित रौतहटमा पनि बृहत मोटरसाइकल र्‍याली निकालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एमाले जिल्ला कार्य समिति रौतहटको आयोजनामा आज रौतहटमा हजारौंको संख्यामा भव्य मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ।

एमालेका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ता, केन्द्रीय सदस्य कुन्दन कुशवाहा, एमाले नेता बबन सिंह लगाएतका हजारौं नेता तथा कार्यकर्ताहरू पार्टीको झन्डा बोकेर र्‍यालीमा सहभागी भएका छन् । जिल्लाको विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्‍याली गरुडा स्थित श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा जम्मा भएका थिए।



दिउँसो १ बजे श्रीराम सुगर चिनी मिल गरुडाको प्राङ्गणबाट निस्केको मोटरसाइकल र्‍याली गौर चन्द्रनिगाहपुर सडकखण्ड भएर सदरमुकाम गौरसम्म पुगेको थियो । गणतन्त्रको पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरिएको एमाले जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले बताएका छन् ।

गरुडाबाट निस्केको मोटरसाइकल र्‍याली गौरको घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला इन्चार्ज गुप्ताले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने तर राजतन्त्र कहिल्यै हुन नसक्ने बताएका छन्।

पछिलो समय राजावादीहरु पुनः राजा फर्काउने भन्दै सल्बलाउन थालेकोले आफूहरु गणतन्त्रको पक्षमा देशभरि जनचेतना फैलाउन उत्रेको उनले बताए । देशमा अब राजा आउने कुनै सम्भावना नरहेकोले राजावादीहरुको झूठा आश्वासनमा नपर्न र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन उनले सबैलाई आग्रह गरे ।

प्रकाशित मिति: २०८१ चैत्र १८, सोमबार १८:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको