मठिहानी मठको जग्गा बेच्नेलाई उत्तराधिकारी महन्थ



जनकपुरधाम, चैत २० । मठिहानी स्थितका लक्ष्मी नारायण मठको जग्गा बेच्ने गरेको आरोप लागेको डा.रविन्द्र दास बैष्णवलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको छ । मठका कयौं बिघा जग्गा बेचेको उनीमाथि आरोप छ ।

गुठी संस्थानले फागुन २८ गते नै जारी गरेको पत्र अनुसार मठिहानी स्थानको उत्तराधिकारी नियुक्तका लागि परेको निवेदन बमोजिम गुठी संस्थान समितिको बैठक नं ४ सय को निर्णयअनुसार निर्देशिका २०७७ को दफा १० बमोजिम डा.रविन्द्र दासलाई उत्तराधिकार महन्थमा नियुक्त गरिएको छ ।

मठिहानी मठ मातहतका जनकपुरधामका दशरथ मन्दिरको जग्गा देखि रानिसति पेट्रोल पम्प भन्दा पश्चिम रहेको जग्गा बिक्रीमा रविन्द्रको संलग्नता रहेको आरोप पटक पटक उनीमाथि लाग्दै आएको छ ।

मठिहानी मन्दिर छुट गुठीमा रहेको र त्यो मन्दिर गुठी संस्था भन्दा बाहिर रहे पनि रविन्द्रले सो मठको उत्तराधिकारी महन्थ बन्नकालागि गुठी संस्थानका पदाधिकारीलाई लाखौं रुपैयाँ बुझाएर उत्तराधिकारी महन्थको चिठ्ठी लिएर आएको जानकारहरुको भनाई छ ।

मठिहानीका स्थानीय भन्छन्–‘मठिहानी मठका महन्थ जगरनाथ दासलाई जसरी भए पनि हटाएर महन्थ बन्न दाउमा रहेका डा. रविन्द्रले नै महन्थ दासलाई चेक सम्वन्धी मुद्दामा फसाएका थिए ।’

मठिहानी मठका सयौं विघा जग्गा बिक्री भई सकेको अवस्था छ । त्यसमा डा. रविन्द्रले नै महन्थ संग विभिन्न ठाउँमा हस्ताक्षर गराएर वा पछाडिको गते मिति राखेर चलखेल गरेको आरोप उनीमाथि स्थानीबासीहरुकै छ ।

जनकपुरधाम स्थित दशरथ मन्दिरकै जग्गा बिक्री गरेको उनीमाथि आरोप छ । डा. जामुन सिंहले सञ्चालन गर्दै आई रहेको क्लिनिक समेत डा. रविन्द्रले बिक्री गरेको आरोप स्थानीयको छ । मन्दिरकै जग्गा बिक्री गर्नेलाई उत्तराधिकारी महन्थ नियुक्त गरेको प्रति स्थानीयबासी गुठी संस्थानमाथि असन्तुष्ट देखिएको छ ।

उनीहरु भन्छन्–‘दशरथ मन्दिरको परिसर बेच्नेले भोली मन्दिर नै बेच्दैन् त्यसको कुन ग्यारेन्टी छ । गुठी संस्थानले गुरु शिष्य परम्परालाई लत्याउँदै पैसाको चलखेल गरेर उत्तराधिकारी महन्थ नियुक्त गरेको छ ।’

मठिहानीका स्थानीय भन्छन्–‘वर्तमान महन्थ जगरनाथ दास सम्म गुरु शिष्य परम्परा थियो, गुरु विते पछि शिष्य महन्थ बन्ने गरेका थिए तर आज गुठी संस्थानबाट नियुक्ति लिएका रविन्द्रले मठको मानमर्दन गरेका छन् ।’

जनकपुरधामका जानकी मन्दिर र मठिहानी मठ छुट गुठीमा पर्ने गरेका कारण यहाँ महन्थले शिष्य मानेका नै महन्थ हुने गरेका थिए । तर, गुठी संस्थानले आफ्नो बर्चस्व कायम गर्न र पैसाको चलखेल गर्न केही दिन देखि उत्तराधिकारी महन्थको सिस्टम ल्याएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति: २०८१ चैत्र २०, बुधबार ०७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको