जनकपुरधाम, चैत २२ । सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला भएको छ । उनको उपचार सिरहा प्रादेशिक अस्पतालमा सम्भव नभए पछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
तस्करी सम्वन्धी समाचार लेखेकै भरमा उनलाई निर्घात कुटपीट गरेको छ । नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवका ज्वाई सिरहाको वरियारपट्टि गाउँपालिका–३ बस्ने परमेश्वर यादवले उनीमाथि निर्घात कुटपीट गराएको दावी गरिएको छ ।
सिरहाको वरियारपट्टि– ३ मै घर रहेका पत्रकार मुकेश यादव रिपोर्टिङ्गका क्रममा बरियारपट्टिबाट जिरोमाइल चल्ने यात्रु बाहक बसमा तस्करी हुने गरेको समाचार लेखेपछि उनलाई पटक–पटक धाकधम्की आएको र उनले नमाने पछि उनीमाथि बिहीबार राति करिव ८ बजेको समयमा संघातिक आक्रमण गरिएको थियो ।
उनको उपचार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममा भई रहेको र अवस्थामा सुधार हुँदै गएको अस्पताल प्रशासनले जनाएको छ ।
यता, पत्रकार यादवमाथि भएको सांघातिक आक्रमणको पत्रकार सम्वद्ध संघ संगठनहरुले दोषीमाथि हदै सम्मको कारवाहीको माग गरेका छन् ।
प्रेस मञ्च मधेश प्रदेशका अध्यक्ष अभरेन्द्र यादवले एक प्रेस विज्ञप्ति जारी गरी दोषीमाथि हदै सम्मको कारवाहीको माग गरेका छन् । उनले समाचार लेखेकै भरमा पत्रकारमाथि संघातिक आक्रमण गर्नु निन्दनीय रहेको बताउँदै समाचार प्रति आपति वा असन्तुष्टि भए सम्वन्धित निकायमा जानुको साटो गुण्डा शैलीमा गरिएको आक्रमण स्वीकार्य नहुने बताएका छन् ।
प्रेस सेन्टर नेपालका मधेश प्रदेश निवर्तमान अध्यक्ष किरण कर्णले समाचार लेखेकै भरमा पत्रकारलाई कुटपिट गर्नु निन्दनी रहेको बताउँदै पत्रकारको सुरक्षा र दोषीलाई तत्काल कारवाही गर्न माग गरेका छन् । दोषी उम्काउने प्रयास भए कडा भन्दा कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् ।




