भैरहवा, चैत २३ । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियनको प्रथम राष्ट्रिय महाविधेशन लुम्बनीको भैरहवामा शुरु भएको छ ।
विद्यार्थी युनियनका अध्यक्ष रमेश यादवको अध्यक्षतामा भएको महाविधेशनको उद्घाटन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका छन ।
भैरहवास्थित पटवा बैंक्वेटमा शुरु महाधिवेशनको उद्घाटन सत्रमा महासचिव एवं मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, महासचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज रामकुमार शर्मा, जसपा नेपालका केन्द्रीय सदस्य एवं पार्टीको युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख विन्देश्वर यादव (बिक्की) लगायतका नेताहरुको उपस्थिति रहेको छ ।
महाधिवेशनमा देशभरबाट ७ सय प्रतिनिधि र १ सय जना पर्यवेक्षक, सयौँ स्वयंसेवकको सहभागिता रहेको छ । नेपालको शिक्षा प्रणालीलाई मौलिकता, संघीयता र रैथाने सामाजिक परिवेशनसँग जोड्न संघीय समाजवादी शिक्षा प्रणालीलाई शैक्षिक मुद्दाको रुपमा र सामाजिक न्याय, समानता, पहिचानमा आधारित राज्य संरचना र गणतन्त्र एवं धर्म निरपेक्षताको विषयहरुलाई राजनीतिक मुद्दाको रुपमा महाधिवेशनले अगाडि सारेको छ ।
प्रथम महाधिवेशनको मुल नारा ‘शिक्षा, स्वास्थ्य र रोजगार विद्यार्थीको अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो आधार’ रहेको छ । भोली सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।










