
काठमाडौँ, चैत २८ । सत्य, अहिंसा र ब्रह्मचर्यको सन्देश प्रवाह गर्दै आज महावीर जैनको २६२४ औँ जन्मजयन्ती मनाइँदै छ । विशेषगरी जैन धर्मावलम्बी तथा श्रावकले अहिंसामूलक यो धर्मका प्रवर्तकको स्मरणका साथ यो दिवस मनाउँदैछन् ।
इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन राजपरिवारमा जन्मनुभएका महावीर जैन तपस्या गर्न दरबार त्यागेर हिँड्नुभएको जैन ग्रन्थमा उल्लेख छ । अहिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने महावीरको सन्देश हो । अरुलाई दुःख दिनु पनि एक प्रकारको हिंसा भएकाले त्यसो नगर्न उहाँले शिक्षा दिनुभएको छ ।



राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२४ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले आज दिनुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायत समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना व्यक्त
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
जैन धर्मका २४औँ तीर्थंकर महावीरको दुई हजार ६२४औँ जन्मजयन्ती (जन्म कल्याणक दिवस)का अवसरमा आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने बताउनुभयो ।
शुभकामना सन्देशमा उहाँले यस दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ । “यो दिवसले सामाजिक एकता, धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्यहरूलाई बलियो बनाउने अवसर प्रदान गर्दछ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ, “भगवान् महावीरले अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्य आदर्शलाई प्रतिपादन गर्नुभयो । यसले धार्मिक दृष्टिसँगै सामाजिक र सांस्कृतिक रूपमा पनि हामीलाई एउटा सुन्दर देश र समाज निर्माणको दिशामा अग्रसर हुन प्रेरित गर्दछ ।”