काठमाडौं, पुस ३० । राजावादी आन्दोलनमा सहभागी हुन नागरिकहरूलाई प्रोत्साहित गर्दै ठूलो संख्यामा एसएमएस पठाउने व्यक्ति सेढाईं काठमाडौंमा पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, सेढाईंले एकै पटक लाखौं व्यक्तिलाई राजावादी प्रदर्शनमा आउन आग्रह गर्दै एसएमएस पठाएका थिए।
अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, उनले करिब ५० लाख जनालाई म्यासेज पठाएको पाइएको छ। यसका लागि सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’को नाममा म्यासेज प्रसारण गरेको पाइएको छ। प्रारम्भिक विवरणअनुसार, उनले तीन वटा दूरसञ्चार कम्पनीसँग सम्झौता गरी करिब एक करोड खर्च गरेर म्यासेज पठाएको दाबी गरिएको छ।
सेढाईं चितवनमा कार व्यवसाय सञ्चालन गर्दै आएका छन् र पेट्रोल पम्पसमेत सञ्चालनमा राखेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको पूर्ण अनुसन्धान गर्दै थप कानुनी कारबाही अघि बढाउने बताएको छ।




