जनकपुरधाम, चैत ३० । मधेश प्रदेश सरकारका सभामुख रामचन्द्र मण्डलले लामो समयदेखि नेपालमा रहेको जातीय भेदभाव तथा छुवाछूतलाई रोक्न समाजका सबैले सकारात्मक सोचसहित व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय दलित पत्रकार सङ्घ, मधेश प्रदेश समितिको प्रथम प्रदेश अधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले वर्तमान संविधानले जातीय भेदभाव तथा छुवाछूतको अन्त्य तथा सबैलाई समान अधिकारको घोषणा गरे पनि व्यहारमा परिर्वतन नआएकाले समस्या हुँदै आएको बताए । उनले जातीय भेदभाव तथा छुवाछूतलाई रोक्न सबैले सकारात्मक सोच बनाउँदै आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा आवश्यकता औँल्याए ।
सभामुख मण्डलले विगतका शासक तथा सामन्ती सोचका व्यक्तिहरूले दलित, आदिवासी तथा जनजातिहरूको विकास गर्न नदिने, शिक्षा, स्वास्थ्य तथा रोजगारीबाट वञ्चित गराउनेजस्ता कार्यले यो वर्ग पिछडिएको भन्दै वर्तमान परिवेश र अवस्थाअनुसार सबै परिवर्तन हुँदै जानुपर्ने बताए ।
मधेश प्रदेशका सांसद रामआशिष यादवले जातीय भेदभाव देशको समाजिक विकृतिका रूपमा रहेकाले जातीय तथा प्रान्तीय भेदभाव हटाउन समाजमा चेतना जागृत गराउनुपर्ने विचारु व्यक्त गरे । उनले भने–‘एक्काइसौँ शताब्दीको यस युगमा पनि जातीय भेदभाव राख्ने मानसिक रूपमा कमजोर सोच भएको व्यक्ति हो ।’
प्रदेश सांसद लखन दासले दलितमाथि विभिन्न बहानामा पटकपटक हुने घटनाको घोर विरोध गर्दै त्यस्तो कार्य गर्नेलाई कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिए । दलितमाथिको विभेद अन्त्य गर्नका लागि समाजका हरेक वर्गले आफ्नोतर्फबाट आवश्यक सहयोग गर्न उनले आग्रह गरे ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य राजेशकुमार कर्णले पत्रकारहरूले पनि समाजमा रहेका विभेद हटाउन कलम चलाउनुपर्ने भन्दै सबैलाई सकारात्मक परिवर्तनका पक्षमा कलम चलाउन आगह गरे ।
राष्ट्रिय दलित पत्रकार सङ्घ मधेश प्रदेश समितिका अध्यक्ष कैलाश दासको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




