शिक्षकहरूले सडकमै नयाँ वर्ष मनाउँदै



काठमाडौँ, बैशाख १ । विक्रम सम्वत २०८२ को आगमनमा मुलुक भर खुशियाली मनाइँदै छ तर, नेपालका शिक्षकहरु सडकमै रमाई रहेका छन् । उनीहरु आज नयाँ बर्षको दिनमा घर परिवार संग खुशियाली मनाउनुको साटो सडकमा आन्दोलन गरिरहेका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका छन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताए । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी , शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्न लागेको बताए ।

अझै केही दिन माइतीघर–बानेश्वर खण्डको सडकमा व्यतीत हुने अवस्था रहेको उनको भनाइ छ । माग पूरा नहुँदासम्म थाक्ने वा गल्ने सुविधा नरहेको बताउँदै केवल जितको लागि लडिरहेको बताए ।

जति विलम्ब हुँदै गयो त्यति नै ऊर्जा र नतिजाप्रतिको प्रतिबद्धता उति बढ्दै गएको उनको भनाइ छ। राज्यले आफूहरूका न्यायिक कुरा स्वीकार गर्नुको विकल्प नरहेको बताए ।

आन्दोलनमा बाहिरबाट अरू शिक्षक–कर्मचारीलाई पनि बोलाउन अनुरोध गरे । विगतमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि शिक्षक तथा विद्यालय कर्मचारी सडक आन्दोलन गर्दै आएका छन्।

प्रकाशित मिति: २०८२ बैशाख १, सोमवार ०८:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको