राजविराज, बैशाख ७ । विगत ९ दिनदेखी यहाँस्थित सामाजिक विकास इकाई कार्यालयमा गरिएको तालाबन्दी खोलिएकै दिन आइतबार एक पक्षले अर्को सरकारी कार्यालय शिक्षा विकास इकाईमा तालाबन्दी गरेका छन् ।
मधेश प्रदेश सरकारबाट पठाइएका विभिन्न योजनाका चिठीहरु सम्बन्धीत वडा कार्यालयमा नपुगेको र कार्यालय प्रमुखले कतिपय योजनाका चिठीहरु बाटोमै मनपरी ढंगले बितरण गरेको भन्दै गत चैत्र २९ गते जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवको अगुवाईमा सामाजिक विकास इकाई कार्यालयमा तालाबन्दी गरिएको थियो ।
आइतबार कार्यालय प्रमुख शुशिल कुमार झा, जनमत पार्टीका नेता भुपेन्द्र प्रसाद यादव, भगवती प्रसाद यादव र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि डम्बर खंगको उपस्थितिमा भएको छलफल सहमतिमा पुगेपछी तालाबन्दी खोलिएको हो । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले छलफलमा कार्यालय प्रमुख झाले विगतमा भएको कमिकमजोरी सुधार गरि मधेश प्रदेश सरकारबाट प्राप्त स्विकृत योजनाका चिठिहरु नियम कानुन अनुसार बितरण गर्ने प्रतिबद्धता जनाएपछी सहमति भई ताला खोलिएको बताए ।
यता आइतबार नै यहाँस्थित शिक्षा विकास इकाई कार्यालयमा अर्को समूहले तालाबन्दी गरेका छन् । कार्यालय प्रमुख रामह्दय यादवले प्रदेश सरकारबाट प्राप्त विभिन्न योजनाका चिठिहरु मनपरी ढंगले बाडेको भन्दै कंचनरुप नगरपालिकाबाट आएका विभिन्न राजनीतिक दलका प्रतिनिधि र वडाअध्यक्षहरुको अगुवाईमा तालाबन्दी गरिएको हो ।
उनीहरुले शिक्षा क्षेत्रमा सुधारका लागि प्रदेश सरकारबाट पठाइएको विभिन्न विकासीय योजनाका चिठिहरु मनपरी ढंगले बाडिएको आरोप लगाएका छन् ।
यसरी प्रदेश सरकारबाट पठाइएका विभिन्न योजनाका चिठिहरुको बितरण प्रक्रियालाई लिएर एकपछी अर्को कार्यालयमा तालाबन्दी गर्ने क्रम बढेपछी स्थानियले योजनाका चिठिहरु बितरण गर्ने प्रक्रियामा सुधार ल्याई ऐन, नियम अनुसार गर्न माग गरेका छन्।




