केआइआइटीमा फेरी एक नेपाली झुण्डिएको अवस्थामा भेटियो



जनकपुरधाम, वैशाख १९ । भारत ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा फेरि एक नेपाली विद्यार्थी आफ्नो कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी छिन्। वीरगन्जकी १८ वर्षीया छात्रा प्रिसा साह विहीवार झुण्डिएको अवस्थामा फेला परेकी हुन्। उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन्। विद्यार्थीको मृत्युको बारेमा केआईआईटीका अधिकारीहरूबाट कुनै टिप्पणी आएको छैन।

प्रहरी आयुक्त एस देव दत्त सिंहले विद्यार्थीको मृत्युको बारेमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए। यसबारे प्रिसाका आमाबाबुलाई पनि जानकारी गराइएको छ। उनीहरू वीरगन्जबाट शुक्रबार भुवनेश्वर पुग्नेछन्। यसपछि मात्र पोस्टमार्टम गरिनेछ। प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्याको देखिएको सिंहले बताए।

यसअघि फेब्रुअरीमा अर्की नेपाली विद्यार्थी प्रकृति लम्सालले पनि आत्महत्या गरेकी थिइन्।

प्रहरीले बताएअनुसार होस्टेलका अधिकारीहरूले साँझ करिब सात बजे विद्यार्थीहरूको हाजिरी लिइरहेका थिए। जब उनीहरूले कोठा नम्बर १११ को ढोका ढकढक्याए, भित्रबाट कुनै प्रतिक्रिया आएन। शंका लागेपछि उनीहरूले प्रहरीलाई खबर गरे। प्रहरीले होस्टेलको कोठा खोल्दा प्रसाको शव पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो।

यसअघि फेब्रुअरी १६ को साँझ बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्सालको शव कलेजको होस्टेलमा फेला परेको थियो। उनले आत्महत्या गरेको भनिएको थियो। विद्यार्थीको मृत्युलाई लिएर कलेजका अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

विद्यार्थीहरूले प्रकृतिसँगैको ब्याचका एक भारतीय युवकले आफूलाई दुर्व्यवहार गरिरहेको आरोप लगाएका थिए। उक्त विद्यार्थी युवतीको प्रेमी भएको दाबी गरिएको थियो। उजुरीपछि पनि विश्वविद्यालयले अभियुक्तहरूविरुद्ध कारबाही नगरेको विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूले विश्वविद्यालयले यो विषयलाई दबाउन खोजेको पनि आरोप लगाएका थिए।

विद्यार्थीको काकाको भाइको उजुरीमा प्रहरीले आरोपी भारतीय विद्यार्थीलाई पक्राउ गरेको थियो। उनीविरुद्ध आत्महत्या गर्न दुरुत्साहनको मुद्दा दर्ता गरिएको थियो। यसबाहेक, करिब १० जनालाई पनि पक्राउ गरिएको थियो। यसमा विश्वविद्यालयका तीन निर्देशकहरू पनि थिए।

यस विषयमा अनुसन्धान गर्न ओडिशा सरकारले गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त(सह(सचिव सम्मिलित उच्चस्तरीय तथ्य खोजी समिति गठन गरेको थियो।

विद्यार्थीहरूले कलेज प्रशासनले आफूहरूलाई निष्कासन गरेको आरोप लगाएका थिए। एजेन्सी

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको