रामस्वरुपप्रसादलाई मधेशको पहिलो पत्रकार मान्न सकिन्छ?

विश्व प्रेस स्वतन्त्रा दिवस विशेष


राकेशप्रसाद चौधरी

राणाशासनको अन्त्य भएकै बर्ष जलेश्वरमा एक युवकले स्नातक उर्तिण गर्नुभयो । भर्खरै प्राप्त भएको प्रजातन्त्रको खुशीयाली मनाउनेहरू यत्रतत्र भेटिनु समान्य थियो । त्यसबखत स्नातक अर्थात बीए पास गरेको व्यक्तिसँग भेट्ने र कुराकानी गर्ने इच्छा राख्नेलाई समेत सम्मानकै दृष्टिले हेर्ने गरिन्थ्यो । भेटघाट र कुराकानी गर्नकै लागि दूरदराज गाउँका व्यक्तिहरू घरसम्म पुग्ने गरेको कथा घरमा सुनेको रामस्वरुपप्रसादको छोरा विश्वेश्वर प्रसाद बताउनुहुन्छ ।
विसं.२००७ सालमा दरभंगाबाट २४ बर्षकै उमेरमा स्नातक उर्तीण गर्नुभएका रामस्वरुप प्रसादले आफ्नो थर नेपाली लेख्न थाल्नुभयो । जलेश्वरमा महोत्तरी सर्लाही गोश्वराका प्रमुख बडाहाकिम बस्ने भएकोले उहाँ स्नातक उर्तीर्ण गरेको कुराबाट सरकारी संयन्त्र जानकार थिए । यस क्षेत्रमा विद्यालय नभएकोले यहाँका विद्यार्थी गुरुजीबाट जलेश्वरमै प्राथमिक शिक्षा हासिल गरेर थप अध्ययनका लागि भारतीय शहरहरूमा जाने अनुमति पाउँथे ।

पत्रकारितामा विसं.२०१० सालदेखि अनवरत खटिएका जलेश्वर निवासी रामस्वरुपको मृत्यु विसं.२०६२ साल फाल्गुन महिनामा भएको थियो । पत्रकार नेपालीको मृत्युपछि छोरा विश्वेश्वर प्रसाद र भरत प्रसादले पत्रिका प्रकाशनलाई निरन्तरता दिएकोमा विसं.२०६५ सालबाट बन्द छ ।
पत्रकारिताको शुरुवाती अवस्थामा उहाँ भारतीय सञ्चारमाध्यममा काम गर्नुका साथै दरभंगाबाट मुक्त नेपाल छाँपेर जनकपुर र जलेश्वरमा ल्याउनु हुन्थ्यो । उहाँले लोक मञ्च(हिन्दी), नेपाल समाचार, दैनिक नवराष्ट्र(पटना), नेपाल टाइम्स (हिन्दी), सगरमाथा सम्वाद समिति(२०१८), राष्ट्रिय सम्वाद समिति(२०१९), गोरखापत्र(२०२३), टेलिकम्युनिकेश(२०२४) लगायतका सञ्चारमाध्यम र संस्थामा पत्रकार तथा लेखकको रुपमा काम गर्नुभएको छ । यसका अतिरिक्त उहाँको लेख÷रचना जनवाणी, लोकमत, सारंगी, त्रिभुवन विश्वविद्यालय हिन्दी विभागको मुखपत्र साहित्यलोक, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकमा प्रकाशित छन् । नेपाली तथा हिन्दी भाषामा प्रजातन्त्र और हमारा कर्तव्य, संक्षिप्त नेपाल, श्री रामनवनी, सीताचरित्र, कथा संग्रह, नागरिक परिचय, जनकपुर महिमा, जनकपुर गाइड, बाबा महात्मसहितको पुस्तकका लेखक उहाँ नै हुनुहुन्छ । नेपाल पत्रकार संघको नामबाट विसं.२०५१ सालमा प्रकाशित स्मारिका ‘नेपाली पत्रकारहरू भाग–१’मा मध्यमाञ्चल क्षेत्रबाट विसं २०१० सालबाट पत्रकारिता शुरु गर्नुभएको रामस्वरुपप्रसाद नेपालीबारे चर्चा गरिएको छ ।

प्रजातन्त्र पुनस्र्थापनापछि जनकपुर उहाँकै प्रकाशन तथा सम्पादनमा अंचलको प्रथम हिन्दी साप्ताहिक मुक्त नेपाल साप्ताहिक २०४८ सालबाट प्रकाशन हुन थाल्योे । पञ्चायती ब्यबस्थामा प्रकाशन हुने पत्रपत्रिकाले समेत २०४८ सालबाट नयाँ दर्ता गराई सञ्चालन गरेकोले थप विवरणहरु पाउन ग्राहो छ । उहाँ जनकपुर र जलेश्वरस्थित घरबाट पुस्तक लेखनको काम समेत गर्नुभएको छ ।

पुस्तकसँग यति धेरै प्रेम भयो कि उहाँले स्नातक उर्तीर्ण गरेकै बर्ष विसं.२००७ सालमा अयोध्या पुस्तकालय जलेश्वर महोत्तरी स्थापना गर्नुभयो । पुस्तकालयको उद्घाटन गर्नकै लागि विसं.२००८ सालमा राजा त्रिभुवनको सवारी जलेश्वरमा भएको थियो । सोहीबर्ष जलेश्वरमा विधिवत रुपमा विद्यालयको स्थापना भयो । हाल लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयको नामबाट संचालित त्यस विद्यालयको संचालक समितिको संस्थापक सदस्यमा उहाँलाई चयन गरिएको थियो ।

अयोध्या पुस्ताकालयपछि उहाँले बुबाको नामबाट विसं.२००८ सालमै आफ्नै घरमा सरयु ज्ञान मन्दिर (पुस्तकाल)को स्थापना गर्नुभयो । विभिन्न ठाउँमा पुस्तकालय सञ्चालन गरिरहेकाहरूको भेलाबाट विसं.२०१३ सालमा जनकपुरधाममा महोत्तरी जिल्ला पुस्तकालय संघको गठन गरिएको थियो । यसका संस्थापक उपाध्यक्ष उहाँ नै हुनुहुन्थ्यो । यस क्षेत्रको पहिलो पत्रिका नवजागरण यहीँ संघकै प्रकाशनमा बाहिरिएको थियो । यस संघको संस्थापक अध्यक्षबारे अझैसम्म एकरुपता छैन ।

जनकपुर केन्द्र बनाई विसं.२०१६ साल चैत्र १ गते त्रैभाषिक मासिक नवजागरण पत्रिका पाठकको हातमा पुगेको थियो । नेपालीय मैथिली छापा पत्रकारिताको इतिहासका लेखक धर्मेन्द्र झाले विसं.२०१४ साल बैशाखमा प्रकाशित यो पत्रिका विभिन्न अवरोधका कारण छाँपिएर विसं.२०१६ सालमा मात्र पाठकसमक्ष पुगेको चर्चा गर्नुभएको छ । यस पत्रिकाको सम्पादन तथा संस्थापनमा नवोनाथ झा नविन तथा धु्रवनारायण लाल कर्णको नाम जोडिन्छ । नवजागरण एकल वा सामुहिक सम्पादन चलेको थियो भन्ने विषयमा अध्ययन हुन आवश्यक छ ।

नवजारण त्रैभाषिक मासिक पत्रिकामा हिन्दी भागको सम्पादन रामस्वरुप प्रसाद बीए(रामस्वरुपप्रसाद नेपाली)को जिम्मामा थियो । महोत्तरी जिल्ला पुस्तकालय संघ जनकपुरधामले प्रकाशन गरेको त्रैभाषिक मासिक पत्रिका नवजागरणमा मैथिली भागको लेखन तथा सम्पादनको जिम्मा प्रोफेसर सुर्यकान्त झाको थियो ।

तत्कालिन समयमा महोत्तरी सर्लाही गोश्वरा रहेकोले धनुषा जिल्लाको नामोनिशान थिएन । विसं.२०१८ सालमा आएर धनुषा जिल्लाको उदय भएको हो । प्रजातान्त्रिक धारका रामस्वरुपलाई राजरदबारसँग सम्पर्क रहेको भन्दै जलेश्वरबासीले विसं.२०१८ सालमा सर्वसम्मत जलेश्वर ग्राम पञ्चायतको प्रधानपञ्च चयन गरेका थिए । ग्राम पञ्चायत सञ्चालनसँगै पत्रकारितालाई निरन्तरता दिनुभएका उहाँले त्यस अवधिमा नेपालमा हिन्दी पुस्तकको रचना गर्नुभएको थियो । पद अवधि समाप्त भएपछि विसं.२०२२ सालमा सो पुस्तक छापियो ।

महोत्तरी सर्लाही गोश्वराको कार्यालय जनकपुर अञ्चलाधीशको कार्यालयमा परिवर्तन भइसकेको थियो । तत्कालिन अञ्चलाधीशले नेपालमा हिन्दी पुस्तकको सम्पूर्ण प्रति जफत गरि आगो लगाई नष्ट गर्नुभएको थियो । अञ्चलाधीशको चित्त नबुझेकाले ठाडो आदेशमा रामस्वरुपलाई महिनादिनसम्म हिरासरमा राखेर मात्र रिहा गरिएको थियो ।

महोत्तरी जिल्लामा ४६ बर्षदेखि पत्रकारिता गरिरह्नुभएका जलेश्वर निवासी दशरथ भण्डारीले रामस्वरुपको सम्बन्ध महोत्तरीबाट प्रकाशित जनवाणी सप्ताहिकसँग समेत रहेको जानकारी दिनुभयो । पूरानो दिन सम्झना गर्नुगर्दै वहाँले विसं. २०५० को दशकमा रामस्वरुपलाई नेपाल पत्रकार संघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान दिन बोलाएकोमा वहाँको छोरा विश्वेश्वरलाई आफूसँगै काठमाण्डौ लगेर सम्मान पत्र प्राप्त गर्ने वातावरण बनाउन भूमिका खेलको बताउनुभयो ।

विश्वेश्वरप्रसादले बुवाको नाममा रहेको सम्मान पत्र लिन काठमाण्डौ गएको सम्झना ताजै रहेको बताउनुभयो । उहाँले त्यो सम्मान पत्र घरमा खोज्दा भेट्टाउन नसकेमा दुखी हुनुहुन्छ । वहाँ भन्नुभयो,“पूरानो घरमा रहेका कागजातहरू वर्षात् र किराले नष्ट गरिसकेको थियो । नयाँ घरमा ती कागजातहरू ल्याउन भेट्टाउन सकिएको छैन ।”

जलेश्वर बजराहीका गणेशप्रसाद चौधरी विसं २०३० सालमा राष्ट्रिय समाचार समितिको महोत्तरी प्रतिनिधि भएको केही समयपछि जनवाणी साप्ताहिक प्रकाशन गर्न थाल्नुभयो । रामस्वरुपले सोही जनवाणी पत्रिकामा लेखहरू समेत प्रकाशन गर्नुभएको थियो । यो पत्रिका बन्द भएपछि चौधरीले प्रभात साप्ताहिक प्रकाशन गर्नुभएको थियो, जून धेरै महिनासम्म टिक्न सकेन । पत्रकारिता गरिरहेकै क्रममा ४० को दशकमा वहाँ जलेश्वर नगरको उपप्रधान बन्नु सफल हुनु भएको थियो । जारी हुन लागेको नयाँ संविधानमा मधेशको मुद्धा समावेश गर्न भइरहेको आन्दोलनको चौधरीलाई खासै मतलब थिएन । आन्दोलनकारीलाई धपाउन सुरक्षाकर्मीले विसं. २०७२ साल भाद्र २५ गते चलाएको अन्धाधुन्ध गोली प्रहारले रतवाराबाट साइकल चलाएर घर फर्किदै गर्नुभएका चौधरीको मृत्यु भएको थियो ।

नेपाल पत्रकार संघको नामबाट विसं.२०५१ सालमा प्रकाशित स्मारिका ‘नेपाली पत्रकारहरू भाग–१’मा काठमाण्डौमा क्रियाशिल उमाकान्त दासबारे चर्चा गरिएको छ । विसं १९७७ सालमा जन्मनुभएका दासको जन्म घर रौतहटको कडरवना थियो । वहाँले विसं २००८ सालमा हिन्दुस्तान समाचारको प्रतिनिधि भई पत्रकारितामा प्रवेश गर्नुभएको थियो । विसं २०१६ पुष १ गते नेपाल संवाद समिति खडा गर्न उहाँको समेत भूमिका रहेको इतिहासकारहरूले बेलाबखत चर्चा गर्नुहुन्छ ।

महोत्तरीमा जन्मनुभएका रामस्वरुप मधेशमै पत्रकारिता गरिरहनुभएको भन्दा दुईबर्ष अगाडिदेखि अर्थात् विसं २००८ सालदेखि रौतहटमा जन्मनुभएका उमाकान्त काठमाण्डौबाट पत्रकारितामा हुनुहुन्थ्यो । हुनतः काठमाण्डौमै राणाशासनकालमा राणाशासनबिरुद्ध मिसन पत्रकारिता गर्ने नेपालकै पहिलो पत्रकार रधुनाथ प्रसाद गुप्ता थिए ।

मधेशको पहिलो पत्रकार रामस्वरुपलाई मान्न उचित देखिन्छ किनभने उमाकान्त र रधुनाथले काठमाण्डौमा पत्रकारिता गरेका थिए । पहिलो नेपाली वा मधेशी पत्रकारको रुपमा रधुनाथप्रसाद गुप्तालाई स्विकार गरिदैँ आएकै हो । विधिवत रुपमा मधेशको पहिलो पत्रकार स्विकार गर्ने जिम्मेवारी मधेश सरकारको पोल्टामा दिए उत्तम हुने देखिन्छ किनभने इतिहासको लेखन र संरक्षणको दायित्व प्रदेश सरकारले लिनैपर्छ ।

प्रकाशित मिति: २०८२ बैशाख २०, शनिवार २०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको