जानकीलाई बिर्सेको सरकार



प्रफुल्ल घिमिरे
कस्तो विडम्बना ! नेपालकि पौराणिक प्रथम राष्ट्रिय विभूति जानकीको जन्मोत्सवका दिन राष्ट्रिय बिदा दिन मांग गर्नुपर्ने ? आन्दोलन नै गर्नुपर्ने ? कति सोचको दरिद्रपन ! कल्ले चलाइरहेको छ राज्य ? राज्य सञ्चालन गरिरहेकाहरुको दिवालीयापन सोचको निर्णयहरु हेर्दा छर्लङ्ग हुन्छ ।

नेपाल र नेपालीको गौरव, आदर्श नारीका रुपमा सम्मानित जगत जननी जानकी या भनौं सीता मिथिला भूमि नेपालकी सुपुत्री हुन ।

धैर्य, सहनशिल र उदारताकी प्रतिमुर्ति, सच्चरित्रता, सतित्व, नारित्व, मातृत्वासल्य, करुणामयि सनातन धर्मावलम्बीहरुको पूजनीय बन्दनीय जगत माताको जन्मोत्सवमा संघीय सरकारको सार्वजनिक बिदाको सूचिमा जानकी जयन्ती नपर्नु भनेको मुलुक कै लागि दुर्भाग्य हो ।

संख्या ५९ नेपाल राजपत्र भाग ५ मिति २०८१/११/१५ हेर्दा जो कोही पनि अचम्मित पर्न सक्छन् । नेपाल सरकार, गृह मन्त्रालयको सूचना भनेर विक्रम सम्बत २०८२ साल बैशाख १ गते देखि चैत मसान्तसम्म एक वर्ष भरिको सरकारी कार्यालय तथा सार्वजनिक निकायकोलागि सार्वजनिक पर्व एवं बिदा प्रकाशित गरेको छ ।

JANAKI-JAYANTIउक्त सूचना हेर्दा बुद्ध जयन्ती देखि लिएर कृष्ण जन्माअष्टमी, इसाई धर्मावलम्बीलहरुको पर्व कृसमस, पृथ्वी जयन्ती, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र, ईद उल अजहा, र मोहम्मद जंयन्ती, धान्य पूर्णिमा, तमु ल्होछार, सोनाम ल्होछार, ग्याल्पो ल्होसार, गौरा पर्व, फागु पुर्णिमा, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, दशैं, तिहार, छठ, तिज, जितिया, सिरुवा पावन, माघी पर्व, घोडेजात्रा, गाई जात्रा, इन्द्र जात्रा, मतस्यन्द्र जात्रा, वसन्त पञ्चमी, राम नवमी सम्म समावेश भएकै छ्न ।

विश्व मजदुर दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, गणतन्त्र दिवस, संबिधान दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस पनि रहेकै छन् । तर दुर्भाग्य छ ! बिगतका समयमा रहेको सीता जयन्ती वा भनौ जानकी नवमी २०८२ को नेपाल सरकारको राष्ट्रिय पात्रोमा अटाउन सकेन ? हुनत नेपाली कांग्रेसका पूर्व उप–सभापति विमलेन्द्र निधि गृहमन्त्री हुँदा जानकी जन्मजयन्तीको अवसरमा विदा दिएका थिए तर अहिले नेपाली कांग्रेस–एमालेको गठबन्धन सरकारलाई जानकी जन्मोत्सवले भने छुन सकेको छैन् । सरकार परिवर्तन संगसगै चाड पर्वहरुको महत्वलाई अवमूल्यन गर्नु, हटाइनु राम्रो सकारात्मक रुपमा लिन सकिदैन ।

एक अर्ब पचास करोड भन्दा माथिका जनसंख्या अगोटेका विश्वका सनातनी धर्मावलम्बीहरुको पूजनीय, बन्दनीय आस्थाका धरोहर जसले एउटा सभ्यता, एउटा संस्कृति , एउटा संस्कार अनि उनले पालना गरेका आदर्श सनातन हिंदू समाज, नेपाल र नेपालीलाई सुम्पिए छन् । विश्वकै धरातलमा नेपाल र नेपालीको गौरव बढाउने यस धराकी छोरी जानकीको जन्मजयन्तीको शुभ अवसरमा बैशाख २३ गतेका दिन राष्ट्रिय बिदा दिने निर्णय गर्ने शक्ति सरकारमा भएका राज्य संचालकहरुलाई श्रीकिशोरिजिले प्रदान गरुन । श्री जानकी जिले सबैको कल्याण गरून् । अस्तुः

(लेखक नेपाली कांग्रेसका प्रखर नेता हुनुहुन्छ )

प्रकाशित मिति: २०८२ बैशाख २१, आइतवार १८:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको