लालपूर्जा माग्दै नगरपालिकामा धर्ना

जनप्रतिनीधी देखी ८५ वर्षिय बृद्ध सम्म सहभागी


राजविराज, बैशाख २२ । ब्लक, विटौरी जग्गाको लालपूर्जा सहित विभिन्न ८ बुंदे माग अघि सार्दै आन्दोलनरत राजविराज नगरवासीले सोमवार राजविराज नगरपालिका कार्यालयमा धर्ना दिएर कामकाज ठप्प पारेका छन ।

राजविराज नगरवासीको तर्फबाट गठित संघर्ष समितीको अगुवाईमा विहान १० बजे बाजार क्षेत्रमा प्रर्दशन पश्चात नगरपालिका कार्यालय घेराउ गर्दै धर्नामा वसेका हुन । धर्नामा विभिन्न राजनीतिक दल, जनप्रतिनिधी तथा ८५ वर्षिय बृद्ध सम्म वसेका छन ।
मुल गेट मै धर्नामा वसेपछि नगरपालिकाको सेवा प्रवाह पनि ठप्प बन्यो । अघिल्लो दिन नगरवासीको तर्फबाट गठित संघर्ष समितिको अगुवाइमा नापी कार्यालयमा समेत घेराउ र धर्ना कार्यक्रम गरिएको थियो ।

धर्नामा संघर्ष समितिका पदाधिकारीका साथै जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, वडा सदस्य रामानन्द देव, विरेन्द्र साह, ८५ बर्षीय वृद्ध शिवनारायण स्वर्णकार, ८२ बर्षीय रोहितलाल दासका सार्थ ठूलो संख्यामा नगरवासी सहभागि भए ।

राजविराज नगरपालिका स्थापनाकाल देखि नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ–बायाँ रहेका ५ हजार २ सय परिवार बर्षौदेखि लालपुर्जा नपाएको र नगरपालिकाबाट नक्सापास तथा मालपोत कार्यालयबाट विगत ८ बर्षदेखि रोक्का प्रकृया बन्द गरिएछि मार्कामा परेका छन् । जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदका आधारमा बसोबास तथा विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक तथा वित्तिय संस्थामा धितो राखि ऋणकर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट बञ्चित भएका छन् ।

संघर्ष समितिले ब्लक र बिटौरी जग्गाको लालपुर्जाका साथै राजविराज बसपार्क अविलम्व संचालन, हटियामा निर्माणाधिन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्व सकाएर व्यवसायीलाई हस्तान्तरण, नाका क्षेत्रमा बर्षौ देखि बन्द रहेका छोटी भन्सार कर्यालयहरुको पुनर्संचालन लगायतका ८ बुदे माग अघि सार्दै विगत २ महिना देखि आन्दोलित छन् । तर सरोकारबाला निकायले माग सम्बोधन प्रति कुनै चासो नदेखाएकाले बाध्य भई आन्दोलनलाई निरन्तरता दिइएको संघर्ष समितिका सल्लाहकार समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहले बताए ।

नगरवासीलाई लालपुर्जा दिलाउन नगरपालिकाले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा मौन बसेको भन्दै संघर्ष समितिले राजविराज नगरपालिका कार्यालयमा समेत घेराउ र धर्नामा बसेको आन्दोलनकारीको भनाई छ ।

प्रथम चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विरोध प्रर्दशन, राजविराज बाजार बन्द तथा दोस्रो चरणमा नगरका घर र पसल पसलमा कालो झण्डा झुण्ड्याउने, मागका पक्षमा हस्ताक्षर संकलन अभियान, सरकोकारवाला कार्यालयमा धर्ना लगायतका विरोधका कार्यक्रम गरेका संघर्ष समितिले बैशाख २४ गते नगरवासीको बृहत भेलाबाट तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

वि।स। २०१६ सालमा नगरपालिका घोषणा भएर नगरको झण्डै ७० विगहा क्षेत्रफलमा बसोवास गर्दै आएका ५ हजार २ सय परिवार अझै लालपुर्जा नपाई समस्यामा छन् ।

प्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार १७:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको