भारतद्वारा पाकिस्तान माथि हवाई कारबाही



एजेन्सी, वैशाख २४ । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्ककारी आक्रमणको ठीक १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरका ९ स्थानमा हवाई कारबाही गरेको छ। बुधबार राति करिब १ः३० बजे ‘अपरेशन सिन्दूर’ नाम दिइएको सैन्य अभियान अन्तर्गत बहावलपुर, मुरिदके, बाग, कोटली, मुजफ्फराबादसहितका स्थानहरूमा लक्षित आक्रमण गरिएको भारतीय सरकारी स्रोतले जनाएको छ।

भारत सरकारद्वारा जारी विज्ञप्तिमा उक्त कारबाही पाकिस्तानको भूमि र पाक अधिकृत कश्मीरभित्र रहेका ‘आतङ्ककारी पूर्वाधार’ माथि केन्द्रित भएको उल्लेख छ। भारतको दाबी अनुसार, यिनै स्थानहरूबाट भारतीय भूमिमा हमलाको योजना बनाइँदै आएको थियो। विज्ञप्तिमा आक्रमणको उद्देश्य भारतको सुरक्षा सुनिश्चित गर्नु रहेको स्पष्ट गरिएको छ।

पाकिस्तानले भने भारतीय सेनाको आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको दाबी गरेको छ। सरकारी टेलिभिजनमार्फत जारी रिपोर्टमा सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतले पाकिस्तानमा तीन स्थानमा मिसाइल आक्रमण गरेको जनाइएको छ।

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले भारतीय कारबाहीलाई ‘बिना उक्साहटको आक्रमण’ भन्दै तीव्र विरोध जनाएका छन्। उनले मस्जिदसहित नागरिक स्थानहरूलाई लक्ष्य बनाइएको आरोप लगाउँदै, पाकिस्तानले यस्ता आक्रमणको ‘निर्णायक जवाफ’ दिने अधिकार सुरक्षित राखेको बताएका छन्। ूहाम्रो सेना, हाम्रो आत्मबल, र हाम्रो संकल्प अटल छ,’ उनले भने।

भारत–पाकिस्तानबीचको यो पछिल्लो तनावले क्षेत्रीय अस्थिरताको सम्भावनालाई थप बलियो बनाएको छ, जहाँ दुई परमाणु शक्तिहरू पुनः आमनेसामने देखिन थालेका छन्।

प्रकाशित मिति: २०८२ बैशाख २४, बुधवार ०८:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको