जनकपुरधाम, बैशाख २५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज जनकपुर आइपुगेका छन् ।
जसपा नेपालको धनुषा जिल्ला अधिवेशनमा सहभागि हुन उनी आज विहान जनकपुरधाम आइ पुगेका छन् । जसपा नेपाल धनुषाको जिल्ला अधिवेशन आज जनकपुरको महेन्द्र नारायण निधि भवनमा शुरु हुँदैछ ।
चार जिल्ला समितिको अधिवेशन कार्यतालिका सार्वजनिक
जसपा नेपाल कोशी प्रदेशअन्तर्गतका चार जिल्ला समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन् । प्रदेशअन्तर्गतका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
जसअनुसार धनकुटा जिल्ला समितिको अधिवेशन शुक्रबार (वैशाख २६ गते) हुने भएको छ । धनकुटा बसपार्कस्थित भूपू सैनिक भवनमा जिल्ला अधिवेशनको उद्घाटन हुने बताइएको छ ।
शनिबार खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुने भएको छ । विराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते जसपा नेपालको मोरङ जिल्ला अधिवेशन हुने कार्यतालिका रहेको छ ।
इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते सुनसरी जिल्ला अधिवेशनको आयोजना गरिएको बताइएको छ ।




