रौतहटमा चर्को गर्मीले माछापालकहरू संकटमा, लाखौंको माछा मरेर नष्ट



ओम प्रकाश यादव
रौतहट, वैशाख ३० । अत्याधिक गर्मीका कारण रौतहटमा एक पोखरीको लाखौंको माछा मरेर नष्ट भएको छ।

दिनभरि लाग्ने चर्को घामले पोखरीको पानीको तापक्रम अत्याधिक बढेको कारण जिल्लाको गढीमाई नगरपालिका -४ का रामप्रित सहनीको पोखरीको माछा मरेर नष्ट भएको छ। गर्मीका कारण सहनीले पालेको करिव दुई बिघा पोखरीको हजारौं माछा मरेर नष्ट हुँदा लाखौंको क्षती भएको छ।

पोखरीको अधिकांश माछा मरेका कारण आफूलाई ५ लाख रुपैयाँ भन्दा बढीको क्षति भएको पीडित सहनीले बताएका छन्।बिहानदेखि बेलुकासम्म लाग्ने गरेको चर्को घामका कारण पोखरीको पानी अत्याधिक तातेको र तातेको पानी सहन नसक्दा माछाहरू धमाधम मार्न थालेको उनी बताउँछन् ।

ठूलो लगानी र कडा परिश्रम गरी माछा पालेको भएपनि बेच्ने बेलामा गर्मीले माछाहरू मरेपछि अब घर परिवार कसरी चलाउने भन्दै सहनी परिवार निकै चिन्तामा परेका छन्। गर्मीले पोखरीको अधिकांश माछाहरू मरेको र भएका माछाहरू समेत मर्ने क्रममा रहेकोले आफ्नो लगानी र परिश्रम दुवै खेर गएको हुँदा आफू बिचलीमा परेको उनले दुःखेसो गरे ।

पीडित सहनीले स्थानीय सरकार संग क्षतिपूर्तिको समेत माग गरेका हुन् ।

माछा पालेरै जीविकोपार्जन गर्ने रौतहटका माछापालक कृषकहरू अहिले गर्मीका कारण पोखरीको पानी तातेर र सुकेर माछाहरू मर्न थालेपछि निकै चिन्तित बनेका छन् ।

गर्मीले माछाको उत्पादन समेत ह्वात्तै घटेको कृषकहरूले गुनासो गरेका छन्।

बढी आम्दानीका लागि धान, गहुँलगायतका बाली फल्ने जग्गामा पोखरी खनेर माछापालन गरेका कृषकहरू यतिबेला पोखरी सुक्न थालेपछि निराश भएका छन् ।

बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछाहरू मरेपछि ठूलो आर्थिक समस्या परेको स्थानीय कृषकहरूले गुनासो गरेका छन् ।

प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको