धनुषामा १०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न



जनकपुरधाम, असार २० । जिल्ला सहकारी संघ लिमिटेड, धनुषाको आयोजनामा १०४औँ अन्तर्राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सहकारी क्षेत्रका अगुवा, जनप्रतिनिधि, सरकारी अधिकारी तथा विभिन्न जिल्लाका सहकारीकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

संघका अध्यक्ष ध्रुव नारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. संजय कुमार यादव तथा मधेश प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार रुपेश कुमार साह विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख रामआशिष यादवले सहकारी क्षेत्र आर्थिक समृद्धि, सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको बताउनुभयो। सहकारीको मूल मर्मअनुसार पारदर्शिता, सुशासन र सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। सहकारीलाई उत्पादन, उद्यमशीलता र स्थानीय अर्थतन्त्रसँग जोड्न सके प्रदेशको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। संजय कुमार यादवले सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले कानुनी व्यवस्था, वित्तीय अनुशासन र सुशासनलाई आत्मसात गर्दै सदस्यको विश्वास कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो। मधेश प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका निमित्त रजिस्ट्रार रुपेश कुमार साहले सहकारी संस्थाहरूको प्रभावकारी नियमन, क्षमता अभिवृद्धि र प्रविधिमैत्री व्यवस्थापनमा जोड दिनुभयो। सहकारी क्षेत्रलाई विश्वासिलो र दिगो बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो।

कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला सहकारी संघ धनुषाका अध्यक्ष ध्रुव नारायण यादवले सहकारी आन्दोलनले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन तथा नागरिकलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। सहकारी अभियानलाई थप प्रभावकारी बनाउन सबै सहकारी संस्थाहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा धनुषा, महोत्तरी, सिराहा लगायत मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सहकारी अभियन्ता, सहकारीकर्मी, व्यवस्थापक, सञ्चालक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती, अवसर तथा आगामी कार्यदिशाबारे विचार आदान–प्रदान गरेका थिए।

यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको मूल भाव ूसहकारितामार्फत समृद्धिू लाई आत्मसात गर्दै कार्यक्रममा सहकारीमार्फत आर्थिक आत्मनिर्भरता, सामाजिक एकता, समावेशी विकास तथा सामूहिक समृद्धिको यात्रालाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। वक्ताहरूले सहकारी आन्दोलनलाई सुशासन, पारदर्शिता र सदस्यकेन्द्रित सेवामार्फत अझ प्रभावकारी बनाउँदै मुलुकको आर्थिक विकासमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रम समापनका अवसरमा सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने सबै सहकारीकर्मी तथा अभियन्ताप्रति सम्मान व्यक्त गर्दै सहकारितामार्फत समृद्ध समाज निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गरिएको थियो।

प्रकाशित मिति: २०८३ असार २०, शनिबार २०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको