ओम प्रकाश यादव
रौतहट, वैशाख ३१ । बाराको एक नगरपालिकाको मेयर चढ्ने गाडी रौतहटमा दुर्घटना भएको छ।
जिल्लाको सिम्रौनगढ नगरपालिकाको मेयर किशोरी प्रसाद कलवार चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटको देवाहि गोनाहि नगरपालिकामा बुधवार पल्टेर दुर्घटनाग्रस्त भएको हो ।
सिम्रौनगढ नगरपालिकाका मेयर चढ्ने बा २ झ ४३५४ नम्बर प्लेटको सरकारी स्कार्पियो गाडी देवाही गोनाही नगरपालिका-५ नारायणचोक देखि २०० मिटर उत्तर तर्फ बाटोमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
रौतहटबाट बाराको सिम्रौनगढ तर्फ तिब्र गतिमा जाँदै गरेको उक्त गाडी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ गाडी पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।
चालकले तिब्र गतिमा गाड़ी चलाउँदा अनियन्त्रित भई गाड़ी दुर्घटना भएको बताइएको छ।
दुर्घटनामा परेर बाराको सिम्रौनगढ-१ बैरियाका ४० वर्षिय मुस्तुफा आलम सामान्य घाइते भएको र उनको अवस्था पनि सामान्य रहेको प्रवक्ता रायले बताए ।
दुर्घटनापछि ईलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट असई अर्जुन मण्डलको कमाण्डमा खटि गएको प्रहरी टोलीले चालक आलमलाई नियन्त्रणमा लिएको थियो ।
गाडीमा चालक मात्र सवार रहेको बताइएको छ। गाडीमा मेयर किशोरी प्रसाद कलवार नरहेको प्रहरीले जनाएको छ।






