टप एन्ड टी–२० सिरिजमा नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै



काठमाडौं, भदौ ५ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली एनटी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र एनटी स्ट्राइकबीचको खेल नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे सुरु हुनेछ । नेपाल यसपटक नेपाल ‘ए’ टोलीसहित प्रतियोगितामा सहभागी भएको हो । टोलीको कप्तानी अनिल शाहले गर्नेछन् भने एनटी स्ट्राइकको नेतृत्व अस्ट्रेलियाका अनुभवी खेलाडी डार्शी शर्टले गर्दैछन् ।

एनटी स्ट्राइकको टोलीमा शर्टसँगै बिग ब्यास लिगमा खेलिसकेका जोर्डन सिल्क, टम मेन्जिज र वेस एगरलगायतका खेलाडी छन् । गत संस्करणमा एनटी स्ट्राइकबाट खेलेका डार्शी शर्ट, क्याडेल म्याकमहोन, हामिस मार्टिन, जोर्डन सिल्क, म्याट ह्यामन्ड र टम मेन्जिज यसपटक पनि टोलीमा छन् ।

नेपालले गत वर्ष पनि टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको थियो । त्यतिबेला एनटी स्ट्राइकसँगको खेलमा नेपाल ४२ रनले पराजित भएको थियो । त्यसैले आजको खेल नेपालका लागि गत संस्करणको हारको बदला लिने अवसरसमेत हुनेछ ।

नेपालले प्रतियोगितामा विभिन्न ६ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एनटी स्ट्राइकपछि नेपालले बंगलादेश हाई–परफर्मेन्स, होबार्ट हुरिकेन्स, एसीटी कमेट्स, किङ्समेन र भिक्टोरियासँग खेल्नेछ ।

यस प्रतियोगिताले नेपाली खेलाडीलाई फरक शैली र स्तरका टोलीविरुद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गर्नेछ । नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडीको तयारी र प्रदर्शन मूल्यांकन गर्नसमेत सिरिजलाई महत्वपूर्ण रूपमा लिएको छ ।

नेपालको खेल तालिका
अगस्ट २१ (भदौ ५) — एनटी स्ट्राइकविरुद्ध नेपाल
अगस्ट २२ (भदौ ६) — नेपालविरुद्ध बंगलादेश हाई–परफर्मेन्स
अगस्ट २४ (भदौ ८) — नेपालविरुद्ध होबार्ट हुरिकेन्स
अगस्ट २६ (भदौ १०) — नेपालविरुद्ध एसीटी कमेट्स
अगस्ट २७ (भदौ ११) — नेपालविरुद्ध किङ्समेन
अगस्ट २९ (भदौ १३) — नेपालविरुद्ध भिक्टोरिया
नेपालको टोली

अनिल शाह ९कप्तान०, कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार ०८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको