जनकपुरधाम, जेठ ८ । जनमत पार्टीका मधेश प्रदेश सरकारमा रहेका दुई जना मन्त्रीले हरिहिसावमा बैमानी गरेपछि फिर्ता बोलाइएको छ । जनमत पार्टीको नेतृत्वमा मधेश प्रदेश सरकार गठन भएपछि वन मन्त्रालयका जिम्मेवारी त्रिभूवन साह र उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी शकील अलि मिया सम्हालेका थिए ।
तर, दुवै मन्त्रीले आर्थिक बर्षको अन्त्यमा व्यापक योजना विक्री गरेको गुनासो पार्टी समक्ष पुगेको तर त्यस अनुसारको हरहिसाव पार्टी समक्ष नदिएपछि दुवै मन्त्रीलाई फिर्ता बोलाइएको हो । हुनत मन्त्री बन्न दुवैले व्यापक रुपैयाँ पार्टीका अध्यक्ष डा. सिके राउतलाई बुझाएको स्रोतको दावी छ ।
स्रोतका अनुसार करिव एक वर्ष देखि मन्त्री रहेका दुवैजनाले मन्त्री बन्नकालागि तिरेको रकम समेत उठ्न नसकेको अवस्थामै आर्थिक बर्षको अन्त्यमा आएर दुवैलाई मन्त्री पद अपदस्त हुनु ठूलै नोक्सान भएको छ ।
वन मन्त्री साहले क्रसर व्यवसायी देखि लिएर वन जंगल समेतमा व्यापक हरहिसाव पार्टी समक्ष नवुझाएको एक नेताको दावी छ । चारै तिरवाट उनले कमिसन लिने गरेको कुरा आएको तर पार्टीमा सो अनुसार नवुझाएपछि उनलाई फिर्ता बोलाइएको छ । उनको स्थानमा संजयकुमार यादवलाई मन्त्री बनाउन लागिएको छ ।
त्यस्तै सकिल मियाँले समेत बढी रकम कव्रिस्तान, मदर्सा लगायतका धार्मिक योजना बनाएर व्यापक कमिसन असुलेको आरोप जनमत पार्टीको सचिवालयमा पुगेको स्रोतको दावी छ । उनले पनि आफ्नो हरहिसाव साफसुथरा नराखेका कारण आर्थिक बर्षको अन्त्यमा आएर उनलाई मन्त्री पदको जिम्मेवारीवाट हटाइएको छ । उनको स्थानमा मधेश प्रदेशका पूर्व कृषि मन्त्री बसन्त कुशवाहालाई जिम्मेवारी दिइएको छ ।
पार्टी प्रवक्ता डा. शरदसिंह यादवले मन्त्रीहरुको कार्यवाट असन्तुष्ट भएर पार्टीले उनको स्थानमा यादव र कुशवाहालाई जिम्मेवारी दिएको बताए ।




