ट्याक्टर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर



मनोज माझी
राजविराज, जेठ १० । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुर खण्डमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते पनि भएका छन् ।

दिउँसो ३ बजेतिर पत्थरगाढाबाट ईटा बोकेर राजविराजतर्फ आउँदै गरेको स.१त. ५४४२ नं. को ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१९प.९६२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका दुबै जना मोटरसाइकलमा सवार थिए । तीन जना बोकेर जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई अचानक ट्याक्टरमा ठोकिन गई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।

घटना पछि फरार भएका ट्याक्टर चालकको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका १ बस्ने २० बर्षीय सन्तोष यादवको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै र अर्का गम्भीर घाइते सोही वडा निवासी २२ बर्षीय सागर मण्डलको अस्पताल पु¥याउँदा मृत्यु भएको थियो । भने अर्का गम्भीर घाइते सोही वडाका १८ बर्षीय धनञ्जय यादवको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोबेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

शनिबारनै बिहान राजविराज–छिन्नमस्ता सडकखण्डमा भएको अर्को मोटरसाइकल दुर्घटनामा राजविराज ७ का १६ वर्षीय मनोज यादव गम्भीर घाइते भएका छन् । स.१प. ६०४८ नम्बरको मोटरसाइकल चढेर जाँदै गर्दा बिहान ५ बजेतिर राजविराज ६ लिल्जा टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते यादवको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा प्रारम्भीक उपचार पछि बिराटनगरस्थित नोबेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिवार १८:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको