गृहमन्त्री लेखकमाथि राजीनामाको चौतर्फी दबाब



काठमाडौँ, जेठ ११ । अध्यागमन विभागमा भएको भ्रष्टाचार प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको चौतर्फी दबाब बढेको छ। सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै र प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक रूपमै उनको राजीनामा माग गरेका छन्।

नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भ्रष्टाचारको विषय उठिसकेपछि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु नै उपयुक्त हुने धारणा राखे।

 

कोइरालाले भने, “अहिले मोरल स्टाटस के हो भने उहाँको नाम आइसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नु नै उपयुक्त हुन्छ।” उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गर्दै मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतालाई सघाउ पुग्ने बताए।

त्यस्तै, नेपाली कांग्रेसकै नेता तथा प्रतिनिधि सभा सदस्य सुनिल शर्माले पनि गृहमन्त्री लेखकले नैतिकता देखाउनुपर्नेमा जोड दिएका छन्। शर्माले भने, “रमेश लेखक जतिको आदर्शवान नेताले सदन खुल्न अघि राजीनामा दिएर ममाथि अनुसन्धान गर्नुस् भन्नुपर्छ र भन्नुहुन्छ जस्तो लाग्छ मलाई।”

रास्वपाकी नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले यस प्रकरणलाई भिजिट भिसा प्रकरण नभइ ‘मानव तस्करी’ को संज्ञा दिएकी छन्। उनले घटनामा उच्च तहको संलग्नता रहेको भन्दै गम्भीर आरोप लगाएकी छिन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै भनेकी छन्, “आफ्नै छोराछोरीहरूलाई, अन्जान ठाउँमा बिना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईंहरू सम्पूर्णमा — हार्दिक श्रद्धाञ्जली — तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला!”

उनले अनुसन्धान अधिकृतको भनाइ उद्धृत गर्दै ‘माथिको आशिर्वाद नभइ यो सम्भव हुँदैन’ भन्ने कुरा आएको उल्लेख गर्दै सहसचिवलाई माथिको आशिर्वाद कसको हो भनी प्रश्न गरेकी छिन्।

गृहमन्त्री लेखकको नाम अध्यागमन भ्रष्टाचार प्रकरणमा मुछिएपछि उनकै दलभित्र र बाहिरबाट राजीनामाको दबाब बढ्दै गएको छ। यस प्रकरणको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग तीव्र बनेको छ।

गृहमन्त्री लेखकले भने शनिवार आफूमाथि कुनै दोष देखिए राजनीति नै नगर्ने बताएका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको